नेपालगञ्ज म्याराथनमा राजेश हमाल दौडिने


नेपाल समाचारपत्र, नेपालगञ्ज ।

पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा मंसीर ४ गते आयोजना हुने धारा सातौं नेपालगञ्ज म्याराथनमा महानायक राजेश हमाल दौडिने भएका छन् ।

आयोजक क्रिएटिभ ह्यान्डसका अध्यक्ष टीएस ठकुरीले अतिथिको रूपमा उपस्थित हुने महानायक हमाल पनि दौडमा सहभागी हुने जानकारी दिएका हुन् । अध्यक्ष ठकुरीले नेपालका सबै प्रमुख धावक र विदेशी धावकको समेत सहभागिता हुने नेपालगञ्ज म्याराथनमा हमालको उपस्थितिले अझ हौसला थपिने बताए ।

ठकुरीले चलचित्र जगत्का सुप्रसिद्ध कलाकार ल्याएमा युवा पुस्तामा प्रेरणा हुने विश्वास लिएका छन् । ठकुरीले बताए– ‘राजेश हमाल भनेको हरेक नेपालीको ढुकढुकीमा बसेका कलाकार हुन् । उनको व्यक्तित्व, शालीनता, भलादमीपनमा जो सुकै पनि आकर्षित नै छन् । उनी जस्तो कलाकार प्रतियोगितामा ल्याएमा यसले युवा पुस्तालाई पनि खेलमा आकर्षण गरिने, स्थानीयबासीलाई हौसला प्रदान गर्ने विश्वासमै राजेश हमाललाई प्रतियोगितामा जोडिएको हो ।’

ठकुरीले बताएअनुसार बुधबार महानायक हमाललाई म्याराथनमा उपस्थित भइदिन निमन्त्रणा दिएको थियो । हमालले कुनै आनाकानी नगरी निमन्त्रणा स्वीकार गरिदिएकोमा पनि आयोजक टिमलाई हौसला दिइएको छ । ठकुरीले बताए–‘उहाँले कुनै आनाकानी गर्नुभएन । हामीले जे सोचे थियो त्यो नै भयो । उहाँको यही भलादमीपनले नै उनलाई महानायक बनाएको मलाई लाग्छ ।’ उहाँले समेत म्याराथनमा उपस्थित हुन पाउँदा खुशी भएको बताउनुभयो ।

नेपालगञ्ज म्याराथनमा यसपाली दशवटा इभेन्ट रहेका छन् । फूल म्याराथन, हाफ म्याराथन, १० किलोमिटर मेन्स ओपन, ५ किलोमिटर ओमेन ओपेन्स, ५ किलोमिटर स्कुल बोय, ३ किलोमिटर स्कुल गल्र्स, किड्स रन (८ देखि १२ वर्ष), २ किलोमिटर कर्पोरेट, वाकाथन र ह्विलचियर प्रतियोगिता रहेका छन् । यसपटकको म्याराथनमा सात हजारलाई दौडाउने तयारी भएको छ । देशी, विदेशी धावकसँगै जिल्लाका गन्यमान्य सबै दौडमा सहभागी हुँदैछन् ।

नेपालगञ्ज म्याराथनले शहरलाई चिनाएको छ । फूल म्याराथनमा नेपालगञ्ज र कोहलपुर जोडिने भएकाले दुई शहरलाई जोड्ने काम गरेको छ । नेपालगञ्ज म्याराथनलाई भव्य र सव्य बनाउन धारा तेल, आशीर्वाद पेन्टस्, शिखर प्लाई, राष्ट्रिय वाणिज्य बैंक, फोन पे प्रत्यक्ष जोडिएका छन् ।

नेपालगञ्ज म्याराथनलाई व्यवस्थित गर्न वेभसाइट लन्च भइसकेको छ । जहाँसुकैका खेलाडीले म्याराथनमा भाग लिनका लागि आफ्नो नाम लेखाउन सक्छन् । देशका सात वटै प्रदेशका खेलाडीलाई सहभागी गराउने तयारी भइरहेको छ । म्याराथनमा वर्षेनी नयाँ–नयाँ प्रविधि जोड्ने र सहभागिता बढाउने अभियान जारी रहेको छ ।

नेपालगञ्जको वीपीचोकबाट शुरू भएर कोहलपुरको कौशिलानगर पुगेर पुनः वीपीचोकसम्म आइपुग्ने म्याराथनले देश विदेशमा नेपालगञ्ज शहरको पहिचान बढाएको छ । सामाजिक एकताको प्रतीक खेलकुद विधामार्फत शहरको चिनारी कायमै राख्न सात वर्षअघि नेपालगञ्ज म्याराथनले यात्रा प्रारम्भ गरेको थियो ।

विश्व मानचित्रमा लामो दौड अर्थात् म्याराथनको अलग महत्व हुने गर्दछ । यसले स्वस्थ रहन सन्देश दिन्छ, बालकदेखि वृद्धसम्मलाई समेट्छ । साथै ठाउँ विशेषको पहिचान स्थापित गर्छ, विभिन्न पेसा एवं व्यवसायका मानिस एकैपटक एक ठाउँमा जमघट गराउँछ । यसले सामाजिक एकताको सन्देश दिन्छ । सबैको सहभागिता, साझेदारी, सहकार्य जरुरी छ । यो सहकार्यमा एउटा इट्टा थप्न महानायक आउँदै हुनुहुन्छ ।