शर्लिनद्वारा राज र शिल्पाबाट ७५ करोड क्षतिपूर्ति माग


बलिउड अभिनेत्री शर्लिन चोपडाले अभिनेत्री शिल्पा शेट्ठी तथा उनका पति राज कुन्द्राविरुद्ध मानसिक प्रताडना दिएको भन्दै ७५ करोड भारतीय रुपियाँ क्षतिपूर्ति माग गरेकी छिन्।

बुधबार मुम्बईमा एक पत्रकार सम्मेलन गर्दै शर्लिनले राज तथा शिल्पाले आफूलाई गुण्डागर्दीको धम्की दिएको र मानहानीको पत्रसमेत पठाएको बताएकी छिन्। शर्लिनले त्यसैको जवाफी पत्र पठाएर आफूले पनि शिल्पा र राजसँग ७५ करोड भारतीय रुपियाँक्षतिपूर्ति माग गरेको बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

शर्लिनका अनुसार शिल्पा र राजले आफूहरूबारे बयान दर्ता नगरोस् भन्ने चाहेको र आफूले मुम्बई प्रहरीमा बयान दर्ता गराउन अनुरोध गरे पनि प्रहरीले समेत बयान दर्ता गर्न अस्वीकार गरेको समेत आरोप लगाएकी छिन्। उनले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई मुम्बई प्रहरीलाई आफ्नो बयान दर्ता गर्न निर्देशन दिन पनि अपिल गरेकी छिन्। केही दिनअघि शर्लिनले जुहु प्रहरीमा आफूले राज कुन्द्राको ‘जेएल स्ट्रिम’ नामक कम्पनीका लागि तीन भिडियो शुटिङ गरेको र प्रतिज्ञाअनुरूपको पारिश्रमिक नपाएको उल्लेख गर्दै शिल्पा र राजबारे उजुरी दर्ता गरेकी थिइन्। त्यहीअनुरुप राज र शिल्पाले पनि शर्लिन चोपडाको अभिव्यक्ति कानुनसंगत नरहेको भन्दै शर्लिनलाई पत्र पठाएका थिए।

‘शिल्पा र राजको साहसिक कामको बारेमा त सबैलाई थाहै छ। पोर्नोग्राफी मामलाका मुख्य अभियुक्त जसको बारेमा मुम्बई प्रहरीले १५ सय पृष्ठको आरोपपत्र तयार गरेको छ भने उनीहरूको के इज्जत बाँकी छ र?’ शर्लिनले राज र शिल्पालाई इंगित गर्दै भनेकी छिन्। मोबाइल एपका लागि अश्लील भिडियो निर्माण तथा बिक्री वितरणको आरोपमा गत जुन १९ मा राज पक्राउ परेपछि राजको एपका लागि वयस्क भिडियो खेल्दै आएकी शर्लिनलाई पनि प्रहरीले ८ घण्टा लामो सोधपुछ गरेको थियो। सोधपुछका क्रममा शर्लिनले राजले कलाकारहरूलाई शरीर प्रदर्शन गर्न लगाएर पैसा नदिने गरेको र आफूलाई वयस्क फिल्म उद्योगमा राजले नै लगेको बताएकी थिइन्। केही महिनाअघि शर्लिनले राजविरुद्ध यौन उत्पीडनको आरोप लगाउँदै एफआरआईसमेत दर्ता गराएकी थिइन्।