हत्या अभियोगमा चार जेल चलान


रौतहट, (नेस) ।

पुरानो रिसइबीको बदलामा एक व्यक्तिको हत्या अभियोगमा चार जनालाई जिल्ला अदालत गौरले पुर्पक्षका लागि कारागार चलान गरेको छ । चन्द्रपुर नगरपालिका–३ गैंडाटार निवासी ५० वर्षीय रोहिणीप्रसाद घोरासैनीको हत्या आरोपमा पक्राउ परेका चारै जनालाई जिल्ला अदालत गौरका न्यायाधीश चित्रबहादुर गुरुङको आदेशमाले कारागार चलान गरिएको हो ।

पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–४ कप्तान टोल निवासी ३८ वर्षीय सहदेव भन्ने डोलप्रसाद वोलखे, ४५ वर्षीय प्रह्लाद फुयाल, पर्सा जिल्ला पर्सागढी गाउँपालिका–३ निवासी २४ वर्षीया रमेश पहरी र नवलपरासी (पू्र्वी) जिल्ला कावासोती नगरपालिका–८ निवासी २३ वर्षीय सूर्यबहादुर भण्डारीलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

हत्यामा संलग्न पहरीले वोलखेमार्फत विभिन्न माध्यमबाट १ लाख १५ हजार बुझेको र अर्का आरोपी भण्डारीले ७ हजार बुझेको अनुसन्धानबाट खुल्न आएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले बताउनुभयो ।

गत भदौ २६ गते कालापानी सामुदायिक वन उपभोक्ता समूहको जंगलमा घाँस काट्न पुगेका घोरासैनीलाई चन्द्रपुर–३ निवासी प्रह्लाद फुयालको योजनामा चन्द्रपुर नगरपालिका–४ कप्तान टोल निवासी वोलखेले सुपारीबापतको रकम दिएर पहरी र भण्डारीद्वारा घाँटी थिचेर हत्या गराएको आरोपमा चारै जनाविरुद्ध प्रहरीले मुद्दा दर्ता गराएको थियो । घोरासैनीको हत्या गरी पिरपिरे रुखको हाँगामा गम्छाको पासोमा झुन्डयाइएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले मुख्य योजनाकार वोलेखेलाई गएको असोज १७ गते काठमाडौंबाट पक्राउ गरेको थियो भने घटना गराउन तारताम्य मिलाउने फुयाललाई भने घटना भएकै दिन पक्राउ गरेको थियो । हत्यामा संलग्न पहरी र भण्डारीलाई भने उनीहरुकै गाउँबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।