महाकालीमा डुंगा दुर्घटना, एकको मृत्यु


बैतडी, (नेस) ।

महाकाली नदीमा डुंगा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता रहेका छन् । महाकाली नदीस्थित बैतडीको शिवनाथ गाउँपालिका–१ खाँडघाटमा बुधबार बेलुका साँझ १० जना सवार डुंगा दुर्घटनामा परेको थियो । मृत्यु हुनेमा बैतडीको शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउद रहेकी छन् ।

शिवनाथ–१ कै ८ वर्षीय सन्दीप साउद बेपत्ता रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले भननुभयो । दुर्घटनामा परी मीना र सन्दीप बेपत्ता रहेकोमा मिनाको शव बिहीबार बिहान साढे ७ बजे महाकाली नदीकिनारमा फेला परेको उहाँले जनाउनुभयो । बेपत्ता सन्दीको खोजीकार्य भइरहेको छ । खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

डुंगामा सवार अन्य आठ जना सकुशल रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिका भारतसँग जोडिएको छ ।

नागरिक पुल नहुँदा भारत आवत–जावत गर्दा महाकाली नदीमा डुंगाको सहायताले वारिपारि जाने गर्दछन् । दुर्घटनाका कारण खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।