इलाम आयुर्वेद औषधालयमा औषधिको चरम अभाव


गणेश घिमिरे, इलाम ।

इलाम आयुर्वेद औषधालयमा औषधिको चरम अभाव भएको छ । उपचार तथा परामर्श लिनेको संख्या दिन प्रतिदिन बढ्दै गएको अवस्थामा इलाम नगरपालिकाले औषधालयलाई बजेट विनियोजन गर्दा समेत स्टोरमा औषधि देखिएको छैन ।पछिल्लो समय रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि आयुर्वेदिक औषधि अत्यन्त उपयोगी मानिएको छ ।

साथै यसको उपचार गराउने बिरामीको संख्या वृद्धि भए पनि औषधि अभावले स्वास्थ्य सेवा प्रभावित हुन पुगेको छ । जस कारण इलाम आयुर्वेद औषधालय अहिले नाम मात्रको औषाधलय बन्न पुगेको स्थानीयको आरोप छ ।

आवश्यकताअनुसार सेवाग्राहीलाई औषधि उपलब्ध गराउन नसकिएको इलाम आयुर्वेद औषधालयका प्रमुख लालदेव मण्डल स्वयं स्वीकार्नुहुन्छ । इलाम नगरपालिकामार्फत सञ्चालन रहेको औषधालयमा आवश्यक औषधि तथा बजेटको समेत अभाव रहेको उहाँको भनाइ छ ।

कोरोनाको जोखिम हुन नदिन तथा उपचारमा समेत आयुर्वेदिक औषधिको प्रयोगमा सर्वसाधारणको औषधालयप्रति आकर्षण बढेको थियो । विगतका तुलनामा सेवाग्राही बढी आउने गरेका मण्डलको कथन छ ।

औषधालयमा आर्थिक बर्ष ०७६/७७ मा १८ सय ८७ जनाले सेवा लिएको गत आर्थिक बर्ष ०७७/०७८ मा त्यो संख्या १२ सयले बढेर ३ हजार ६० पुगेको छ । तर, औषधालयमा बालबालिकादेखि वृद्धवृद्धा उपचारका लागि आउने गरे पनि औषधालयको स्टोर नै अहिले खाली छ ।

‘आयुर्वेद औषधालय विभागबाट इलाम आयुर्वेद औषधालयलाई वार्षिक ३० देखि ३४ लाख रुपियाँसम्म बजेट विनियोजन हुने गरेको छ, त्यो बजेट इलाम नगरपालिकामार्फत उपलब्ध गराइँदै आएको छ’, औषधालयका प्रमुख मण्डलले भन्नुभयो– ‘सो बजेटबाटै कर्मचारीको तलबभत्तादेखि कार्यालय सञ्चालन, औषधि खरिद र अन्य कार्यक्रम सञ्चालन गर्दा बजेट अत्यन्त कम हुने गरेको छ ।’ इलाम नगरपालिकाले आफनो आन्तरिक स्रोतबाट बजेट उपलब्ध नगराउँदा औषधालय सञ्चालनमा कठिनाइ देखिएको छ ।

औषधालयले नगरपालिकामा थप बजेट माग गरे पनि उपलब्ध नगराएको प्रमुख मण्डलको भनाइ छ । नगरपालिकाले औषधालयलाई प्राथमिकतामा नराखेको पनि गुनासो उहाँले गर्नुभयो ।

औषाधलयले उपलब्ध गराउने निःशुल्क औषधि नपाउँदा सेवाग्राहीहरु महँगो मूल्य तिरेर खरिद गर्न बाध्य भइरहेको इलाम नगरपालिका–६ का सेवाग्राही सुवर्ण खड्काले बताउनुभयो ।

इलाम नगरपालिकाले वार्षिक ८/९ लाख बजेट छुटयाएको खण्डमा बिरामीलाई वर्षभर नै औषधि वितरण गर्न सकिने उहाँको भनाइ छ । हाल विभागबाट आउने बजेटसमेत नआउँदा औषधि खरिद गर्न समेत सकेको छैन ।

सो औषधालयबाट नियमित आर्युवेदिक औषधि लिएर सेवन गरिरहेका करिब डेढ सयजति बिरामीले विगत ३/४ महिनादेखि औषधि पाउन सकेका छैनन् । आयुर्वेद औषधालयमा २३ प्रकारका औषधि पाउनुपर्ने भए पनि इलाम आयुर्वेद औषधालयमा भने एक प्रकारको औषधि नभएको पाइएको छ ।

विभागबाट प्राप्त भएको बजेट नगरपालिकामार्फत नै जाने भएकाले सो बजेट नगरपालिकाले नै उपलब्ध गराएको इलाम नगरपालिकाका सूचना अधिकारी रामकुमार शाह बताउनुहुन्छ । औषाधलयका लागि बजेट कम रहेको स्वीकार्दै शाहले अब चाँडै आर्युवेदिक औषधि खरिद गरेर सेवाग्राहीलाई दिइने बताउनुभयो ।

औषधालयले निःशुल्करूपमा ज्येष्ठ नागरिक, स्तनपायी, गाउँघर क्लिनिकलगायत स्वास्थ्य समस्या निराधार कार्यक्रम सञ्चालन गरिरहेको छ । औषाधलयमा हाल फिजियोथेरापी सेवा पनि सञ्चालनमा छ ।