यात्रु सुताउने अनौठो बस सेवा


हङकङ, (एजेन्सी) ।

हङकङको एउटा टुर कम्पनीले तनावमा परेका यात्रुहरूका लागि आराम दिने एउटा अनौठो खालको उपाय निकालेको छ । उलु ट्राभलले पाँच घन्टा यात्रुलाई गन्तव्यहीन सेवा दिने भएको छ ।

चलायमान बसको आवाज र सडकको गतिसँगै यात्रुलाई बसभित्र मज्जाले निदाउने व्यवस्था गरिएको छ । तुएन मुन राजमार्गदेखि लान्ताउ टापुबीचको ४७ माइल लामो दूरीमा तिनीहरूलाई शान्तसँग सुत्न दिइने व्यवस्था छ ।

उक्त डबल डेकर बसमा यात्रुले चार प्रकारका क्याबिन छान्न सक्नेछन् भने टिकट दर १३ देखि ५१ डलरसम्म रहेका छन् । यस यात्राको दौरानमा ‘फुड कोमा लन्च’ दिइन्छ । साथै बसलाई विभिन्न सुन्दर प्राकृतिक दृश्यहरू भएका स्थानमा रोकेर यात्रुलाई दृश्यावलोकनको पनि सुविधा राखिएको छ ।

यात्रुहरूलाई एउटा पश्चिमेली परिकार पाइने रेस्टुरेन्टमा खाना ख्वाएर बसमा सुताउन शुरू गरिन्छ । यो बस हो वो स्ट्रिट, बटरफ्लाई बीच, तुएन मुन चेक ल्याप कोक टनल र इन्सपिरेसन लेक लगायतका स्थानमा रोकिने बताइएको छ ।