संसद् अधिवेशन अन्त्य, तीन राजदूत सिफारिस


काठमाडौं, (नेस) ।

संसद्को चालू अधिवेशन शुक्रबार राति १२ बजेबाट अन्त्य भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चालू अधिवेशन अन्त्य गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गर्नुभएपछि संसद् अधिवेशन अन्त्य भएको हो ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस पनि गरेको छ । एक मन्त्रीका अनुसार मन्त्रिपरिषद्को बैठकले भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गत असोज ४ गते ओली नेतृत्वको सरकारले नियुक्त गरेको भारत, अमेरिका, बेलायतलगायतका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम भारतबाट राजदूत नीलाम्बर आचार्य, अमेरिकाबाट राजदूत डा. युवराज खतिवडा र बेलायतबाट राजदूत लोकदर्शन रेग्मी स्वदेश फर्किसक्नुभएको छ ।