बिल्बाओ र स्पान्योलको बराबरी


लन्डन, (एजेन्सी) ।

स्पेनिस ला लिगामा एथ्लेटिक बिल्बाओ र स्पान्योलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

स्पान्योलको घरेलु मैदानमा मंगलबार राति भएको खेलमा बिल्बाओले १० खेलाडीमा समेटिएको स्पान्योलसँग समान अंक बाँडेको हो । प्रतिस्पर्धात्मक खेलमा स्पान्योलका लागि राउल डे टोमसले गोल गरेका थिए । बिल्बाओका इनाकी विलियम्सले बराबरी गोल फर्काए । राउलले ३३औं मिनेटमा पेनाल्टीमार्फत शुरुआती गोल गरेका थिए । डी–बक्सभित्र बिल्बाओका मिकेल भेसगाले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीलाई राउलले सदुपयोग गरेका थिए ।

बिल्बाओले दोस्रो हाफको शुरुआतमा बराबरी गोल फर्कायो । ५२औं मिनेटमा इनाकीले इनिगो लेक्वेको पासमा बराबरी गोल गरेका थिए । खेलको अन्तिममा स्पान्योलका राउल डे टोमस रातो कार्ड पाउँदै बाहिरिएका थिए । स्पान्योलका डिएगो लोपेज ‘म्यान अफ दी म्याच’ घोषित भए । यो नतिजासँगै १० खेलमा चार जित, पाँच बराबरी र एक हार खेपेको बिल्बाओको १७ अंक छ । ११ खेल सकेको स्पान्योल १४ अंकसहित १०औं स्थानमा छ ।

मंगलबार राति नै भएको अर्को खेलमा भिल्लारियल र काडिजले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । बराबरीसँगै भिल्लारियलले १२ अंक जोडेको छ । काडिजको आठ अंक छ ।

अर्को खेलमा यसअघि रेलिगेसनको दबाबमा रहेको डिर्पोटिभो अलाभेसले इल्चेलाई १–० गोलले हरायो । घरेलु मैदानमा अलाभेसलाई जिताउन मामाडोउ लोउमा एनडियले ४७औं मिनेटमा गोल गरेका थिए । जितसँगै अलाभेसको १० खेलबाट नौ अंक पुगेको छ । पराजित इल्चेको १० अंक छ ।