कराते खेलाडी सुमनको सहयोग


काठमाडौं, (नेस) ।

आर्थिक अवस्था कमजोर भएका खेलाडीलाई वितरण गर्ने गरी कराते खेलाडी सुमन तिमल्सिनाले दुई खेल संस्थालाई खेल पोसाक बुधबार सहयोगस्वरुप उपलब्ध गराएका छन् । करिब ६० हजार मूल्य बराबरको कराते र तेक्वान्दो पोसाक सुमनले संस्थालाई वितरण गरेका हुन् ।

नेपाल गोजुरियो कराते डो संघलाई २४ थान गी (कराते पोसाक) तथा कोटेश्वर तेक्वान्दो डोजाङलाई १६ थान डोबोक (तेक्वान्दो पोसाक) सुमनले व्यक्तिगत उपलब्ध गराए ।

सुमनले गोजुरियो कराते संघ एवं एसियाली गोजुरियो कराते महासंघका महासचिव बिआर मित्र तथा कोटेश्वर तेक्वान्दो डोजाङका सिनियर प्रशिक्षक विशाल रायमाझीलाई एक कार्यक्रमबीच पोसाक हस्तान्तरण गरे ।
सुमनले आर्थिक अवस्था कमजोर भएका खेलाडीलाई थोरै भए पनि राहत मिलोस् भन्ने उद्देश्यले पोसाक उपलब्ध गराएको बताए ।

महासचिव मित्र र सिनियर प्रशिक्षक रायमाझीले सहयोगले खेलाडीको मनोबल उच्च बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सहयोगका लागि धन्यवाद दिए । दुवैले लक्षित वर्गलाई पोसाक उपलब्ध गराउने प्रतिबद्धता जनाए ।