इंग्ल्यान्डको लगातार दोस्रो सहज जित


अबुधाबी, (एजेन्सी) ।

जारी क्रिकेट टी–२० विश्वकपको २०औं खेलमा इंग्ल्यान्डले बंगलादेशलाई ८ विकेटले हराएको छ । टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशका ब्याटसम्यान फ्लाप सावित भए । टोलीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २४ रनको सामान्य योगफल मात्रै बनाउन सक्यो । टोलीका लागि मुसफिकुर रहिमले सर्वाधिक २९ रन बनाए । इंग्ल्यान्डका लागि टाइमिल मिल्सले सर्वाधिक ३ विकेट लिएका हुन् ।

१ सय २५ रनको लक्ष्य इंग्ल्यान्डले सहजै भेटायो । १४.१ ओभरमै २ विकेट गुमाएर इंग्लिस टोलीले लक्ष्य पाएको हो । सुपर १२ मा इंग्ल्यान्डको यो लगातार दोस्रो जित हो । यसअघि, इंग्ल्यान्डले डिफेन्डिङ च्याम्पियन वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको थियो । वेस्ट इन्डिजलाई मात्र ५५ रनमा समेटेको थियो । दुई सहज जितपछि इंग्ल्यान्ड सेमिफाइनलको सम्भावना बलियो भएको छ ।

बंगलादेशको लागि भने सेमिफाइनल पुग्न बाँकी खेल जित्नै पर्ने दबाब भएको छ । बंगलादेशले यसअघि श्रीलंकासँग १ सय ७२ रनको ठूलो लक्ष्य दिए पनि हारको सामना गरेको थियो । बंगलादेशले आगामी तीनै खेल वेस्टइन्डिज, अस्टे«लिया र दक्षिण अफ्रिका जस्ता टोलीसँग खेल्नुपर्नेछ ।

लक्ष्य भेटाउने क्रममा इंग्ल्यान्डका ओपनर जेसन रोयले अर्धशतक बनाए । रोय र जोस बटलरले पहिलो विकेटका लागि ३९ रन जोडेको थियो । बटलर १८ रनमा आउट भए । रोय र डेभिड मलानले दोस्रो विकेटका लागि ४८ बलमा ७३ रन जोडेर खेल एकतर्फी बनाइदिए । रोयले आफ्नो टी–२० अन्तर्राष्ट्रिय करिअरमा ५०औं अर्धशतक प्रहार गरेका हुन् । ‘म्यान अफ द म्याच’ घोषित उनले ३८ बलमा ६१ रन जोडे । मलान २८ रनमा नटआउट रहेका हुन् ।

तर, बंगलादेशका ब्याटसम्यानले भने पहिलो खेलमा जस्तो सानदार ब्याटिङ गर्न असफल भए । इनिङको तेस्रो ओभरको पहिलो दुई बलमा मोइन अलीले लगातार दुई विकेट लिएका थिए । यसले बंगलादेशलाई ब्याकफुटमा पुर्‍यायो । अलीले लिटन दास (९ रन) लाई आउट गरे भने अर्को बलमा मोहम्मद नईमलाई व्यक्तिगत ५ रनमा पभेलियन फर्काएका थिए ।

इंग्ल्यान्डका लागि ठूलो सफलता क्रिस वोक्सले दिलाए । उनले फर्ममा रहेका शाकिब अल हसनलाई आउट गरेका थिए । शाकिबले मात्र ४ रन जोडेका थिए । चौथो विकेटका लागि मुसफिकुर र महमुदुल्लाहले ३७ रन साझेदारी गरेका थिए । तर, यो साझेदारी लिभिंगस्टोनले रहिमलाई आउट गरेर यो साझेदारी तोडेका थिए । रहिम २९ रनमा आउट भए भने महमुदुल्लाह १९ रनमा आउट भएपछि बंगलादेशबाट नतिजा फुस्कने क्रम शुरु भयो ।

इंग्ल्यान्डका बलरले पावरप्लेमा २७ रन दिएर बंगलादेशका तीन ब्याटसम्यानलाई आउट गरेका थिए । वोक्सले १२ रन दिएर १ विकेट लिए । मिल्सले २७ रन खर्चेर ३ विकेट हात पारे । अली र लिभिंगस्टोनले २/२ विकेट हासिल गरेका थिए । आदिल राशिद र क्रिस जोर्डनले भने विकेट लिन सकेनन् ।