कट्रिना विक्कीसँग बिहे गर्दै !


बलिउड अभिनेत्री कट्रिना कैफ तथा अभिनेता विक्की कौशलले एक–अर्काबीचको प्रेम सम्बन्धका बारे मुख खालेका छैनन्। तर, केही महिना अघिदेखि बलिउड फिल्म जगत र सञ्चारमाध्यममा उनीहरूको प्रेम चर्चाले स्थान पाइरहेको छ।

केही समयअघि भारतीय सञ्चार माध्यमहरूमा विक्की र कट्रिनाले गोप्यरूपमा इन्गेजममेन्ट गरेको खबरसमेत आएको थियो। यहीबीच उनीहरू आगामी डिसेम्बर महिनामा विवाह बन्धनमा बाँधिन लागेको खबर बाहिरिएको छ। ई–टाइम्सले प्रकाशन गरेको एक समाचारमा कट्रिना र विक्की आगामी डिसेम्बरमा विवाह बन्धनमा बाँधिन लागेको जनाएको छ। समाचारमा गोप्य स्रोतको भनाइ उद्धृत गर्दै विक्की र कट्रिनाले विवाहका लागि कपडा छनोट गरिरहेको र उनीहरूको विवाहको कपडा भारतकी प्रख्यात फेसन डिजाइनर सब्याची मुखर्जीले डिजाइन गर्ने जनाइएको छ।

विक्की र कट्रिनाले आफूहरूबारे चलेको प्रेम सम्बन्धको चर्चा स्वीकार नगरे पनि अस्वीकारसमेत गरेका छैनन्। विक्की बेला–बेलामा कट्रिनाको घरमा गइरहने गर्छन् भने धेरैपटक कट्रिनाले विक्कीको टिसर्ट लगाएको फोटो सामाजिक सञ्जालमा सेयर गरिरहन्छिन्। धेरैपटक पार्टीहरूमा एक–अर्काका साथ मस्ती गरिरहेका बेला लिइएका विक्की र कट्रिनाका फोटोहरू मिडियामा छाउने गरेका छन्। केही महिनाअघि करण जोहरको टक शो कफी विथ करणमा अतिथिको रूपमा सँगै गएपछि बलिउड नगरीमा उनीहरूको प्रेम चर्चा शुरू भएको थियो। शोमा कट्रिनाले आफूलाई विक्कीका साथ फिल्ममा अभिनय गर्ने रहर भएको र सँगै काम गर्दा जोडी सुहाउने अभिव्यक्ति दिँदा विक्कीले भने बेहोस भएको अभिनय गरेका थिए।