ओलीलाई देउवाको जवाफ: सबै न्यायाधीशको राजीनामा माग्नु गैरजिम्मेवार


नेपाल समाचारपत्र, काठमाडौं ।

कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा पुनःस्थापनाको आदेश दिने सबै न्यायाधीशको राजीनामा दिनुपर्छ भन्ने अभिव्यक्ति गैरजिम्मेवार भएको बताउनुभएको छ ।

नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले परमादेशको आदेश दिने सबैलाई हटाउनुपर्छ भन्ने गैरजिम्मेवार कुरा गर्नु उचित नहुने बताउनुभएको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटक–पटक संसद् भंग गरेको भन्दै देउवाले त्यसको खिलापमा सर्वोच्चले परमादेश जारी गरेर संविधान र प्रजातन्त्र बचाएको बताउनुभएको थियो ।

एमाले अध्यक्ष ओलीले मंगलबार पालिका अधिवेशन उद्घाटन गर्दै परमादेश ल्याउने सबैले राजीनामा दिनुपर्ने बताउनुभएको थियो । ओलीले जथाभावी बोल्ने काम छैन भन्दै प्रधानमन्त्री देउवाले भन्नुभयो– ‘ओलीजीले संसद् भंग गरेर त्यसको खिलापमा सर्वोच्चले परमादेश जारी गरेर नेपालको संविधान बचाएकाले परमादेश ल्याउने सबैलाई हटाउनुपर्छ भन्ने गैरजिम्मेवार कुरा गर्नहुन्न ।’

संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको भन्दै देउवाले त्यसको विरोध नगर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह पनि गर्नुभएको छ ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले वाणिज्यमन्त्री नियुक्त भई राजीनामा दिएका गजेन्द्र हमाल कांग्रेसकै मानिस भएको पनि बताउनुभएको छ । न्यायालयलगायत विभिन्न सवालमा गठबन्धनमा आवश्यक छलफल गर्ने बताउँदै प्रधानमन्त्री देउवाले अदालतमा उठेका कुराबारे धेरै बोल्न जरुरी नभएको भन्दै अदालतको कुरा अदालतले नै मिलाउने बताउनुभएको थियो ।