मिठाइजन्य खाद्य बस्तुको गुणस्तरमा लापरबाही

मिठाइ पसलमा प्रयोग गरिने पीठो, बेसन, चामल, रङ्, तेल, मरमसलालगायत म्याद सकिएका र सकिन लागेका सामाग्रीको बढ्दो प्रयोग


काठमाडौँ ।

काठमाडौँ महानगरको उपभोक्ता हित संरक्षण समितिले मिठाइजन्य खाद्यवस्तुमा अनुचित व्यापार गरेका केहीलाई आर्थिक जरिवाना गराएको छ भने केहीलाई सुधार गर्ने समय दिएको छ ।

यस क्रममा आज बत्तीस पुतलीमा सञ्चालित रामेश्वर मिठाइपसललाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ । हिजो महाराजगन्जस्थित प्रिया स्वीट एण्ड चाट हाउसलाई २० हजार रुपैयाँ र ताज बेकरीलाई २० हजार रुपैयाँ जरिवाना गरिएको थियो ।

रामेश्वर मिठाइ पसलमा मिठाइ बनाउन बसालिएका ३ वटामध्ये २ वटा कराईको तेल मिठाइ बनाउन अयोग्य थियो । टीवीएम उपकरणको प्रयोग गरेर तेलको गुणस्तर जाँच गरिएको थियो । सञ्चालक भने फाल्न तेल फाल्न राखिएको दाबी गरिरहेका थिए । तर कराई चुलामा तातिरहेको अवस्थामा थियो । मिठाइ बनाउन प्रयोग गरिने रङ् र मसलाको म्याद सकिएको थियो । फ्रिजमा राखिएका करिब १ दर्जन बोतल कोल्ड ड्रिङ्सको म्याद सकिएको थियो ।

हिजो कारबाही गरिएको ताज वेकरीले व्यवसाय सञ्चालनका लागि लिनु पर्ने कुनै पनि दर्ता प्रमाण पत्र देखाउन सकेन । बेकरीको डिफ्रिजमा म्याद सकिएका कुल्फी र आइसक्रिम थिए । त्यहाँबाट ६९ वटा आइसक्रिम र १ प्याकेट कुल्फी जफत गरियो । महाराजगन्ज चोकैमा रहेको प्रिया स्वीटको भान्छा अँध्यारो र फोहोर थियो । म्याद सकिएका रङ् र मसलाको प्रयोग भइरहेको थियो । त्यहाँबाट भुजिया, सनपाप्रीलगायत म्याद गुज्रिएका खाद्यबस्तु जफल गरिएको थियो ।

मिठाइ बनाउँदा प्रयोग हुने सामाग्रीको प्रयोगमा लापरबाही गर्नेलाई आर्थिक जरिवाना गराएका छौँ भने सरसफाइमा सुधार गर्नुपर्नेलाई समय दिएका छौँ । निरीक्षण अधिकृत हरिबहादुर भण्डारी भन्नुहुन्छ, ‘व्यापारीहरुले मिठाइजन्य खाद्य उत्पादनमा व्यावसायिक धर्मको पालना गर्नु पर्ने, सामाजिक दायित्व निर्वाह पर्ने देखिएको छ ।

कारबाही त समस्याको समाधान होइन तर अनुचित काम गर्नेलाई छोड्न सकिँदैन ।’तिहारमा धेरै मिठाइ खपत हुने भएकोले म्याद गुज्रिएका सामानको प्रयोग भएको विगत बर्सहरूको अभ्यास देखाउँछ । यो बर्ष पनि यस्तै देखियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक कौशल ओझाका अनुसार यो समयमा म्याद सकिएका सामानहरु मिसाएर प्रयोग गर्ने खतरा छ । म्याद सकिन लागेका सामान अफर र सस्तो मूल्यमा विक्री गर्ने गरेको पाइन्छ ।

मिठाइ पसलमा देखिएको अवस्था उपभोक्ताको स्वास्थ्यका कोणबाट जोखिमपूर्ण देखिन्छ । म्याद गुज्रिएका सामान विक्री गर्नु उचित मूल्यमा उचित सामान प्राप्त गर्न पाउने उपभोक्ताको अधिकारमाथि सरासर खेलबाड भएको छ । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना भन्नुहुन्छ, सरकारले यस बेला आफूलाई सशक्त बनाउन सकेन भने अखाद्य बस्तु प्रयोग गरेका कारण भोलि ठुलो स्वास्थ्य संकट आउन सक्छ । मूल्य तिरेर जोखिम किन्नु नपरोस् भन्ने कुरामा सबै एक ठाउँ हुनुपर्छ ।

आजै अनुगमनका क्रममा गौशाला चोकस्थित अन्नपूर्ण मिठाइ भण्डारमा प्रयोगका लागि राखिएका चामलमा उपभोग्य अवधि मेटिएको थियो भने म्याद सकिएका बेसनका बोराहरु थिए । मिठाइ बनाउन प्रयोग हुने केही रङ्ग, मसला र कोल्ड डिङ्सको म्याद सकिएको थियो । भण्डार सञ्चालकले चामल खरिद विल देखाउन सकेनन् ।

त्यसपछि अनुगमन टोली उनले चामल खरिद गरेको बत्तीसपुतलीस्थित बालाजी टे«डर्समा पुगेर चामलको म्याद जाँच गरेको थियो । त्यहाँ भएका बोरामा पनि उत्पादन र उपभोग्य मिति नदेखिएपछि आयातकर्ताले दिएको विलविजकसहित कार्यालयमा उपस्थित हुने गरी छोडिएको छ ।महालक्ष्मी अङ्गुरी जिरा चामल जय मातादीले आयात तथा बजार व्यवस्थापन गरेको छ ।