पतिले जमानत पाएपछि शिल्पाले गरिन् केश मुण्डन


बलिउड अभिनेत्री शिल्पा शेट्ठी हाल आफ्नो नयाँ हेयर स्टाइलका कारण चर्चामा छिन्। शिल्पाले केही दिनअघि सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै आफ्नो कपाल अन्डर कट गराएको बताएकी थिइन्।

जसअनुरूप टाउकोको पछाडिपट्टीको भागबाट आधा भागको कपाल मुण्डन गरिन्छ। शिल्पाले यस प्रकारको हेयर स्टाइल कुनै पनि ट्रेन्डलाई पछ्याउनका लागि गरेकी होइनन्। भारतीय सञ्चार माध्यमका अनुसार शिल्पाले अश्लील भिडियो निर्माण तथा बिक्री वितरणको आरोपमा पक्राउ परेका पति राज कुन्द्रा हिरासतमा रहेका बेला जमानत मिलेमा आफ्नो टाउकोको आधा कपाल फालिदिने कामना गरेकी गरेकी थिइन्। अदालतले राजलाई जमानत दिएपछि सोहीअनुरूप यस प्रकारको हेयर स्टाइल बनाएकी हुन्।

मोबाइल एपका लागि अश्लील भिडियो निर्माण तथा बिक्री वितरणको आरोपमा राज गत जुन १९ मा पक्राउ परेका थिए। दुई महिना जेलमा बिताएपछि राजले भारतको महानगरीय मेजिस्ट्रेटको अदालतबाट जमानत पाएका थिए। एकातिर शिल्पा सामाजिक सञ्जाल, मिडिया तथा सार्वजनिक स्थानमा लगातार देखिइरहेकी छिन् भने राज जेलबाट बाहिर निस्किएको करिब एक महिनासम्म पनि सार्वजनिक स्थानमा देखिएका छैनन्। उनी सामाजिक सञ्जालमा पनि सक्रिय छैनन्।