हर्षुले ल्याइन् मेरो देश नेपाल


गायिका हर्षु राईको राष्ट्रिय भावमा समर्पित गीत मेरो देश नेपाल म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।

धरानमा आयोजिक कार्यक्रममा गायक दीप श्रेष्ठ र धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले प्ले बटन थिचेर गीतको भिडियो सार्वजनिक गरेका थिए। गोपाल दाहालको शब्द रचना, विनोद प्रियदर्शी राईको संगीत र किरण कँडेलको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियो नगेन्द्र लोहोरुङ राईले निर्देशन, छायांकन र सम्पादन गरेका छन्।

भिडियो विमोचन कार्यक्रममा बोल्दै गायक दीप श्रेष्ठले देशभक्ति भावको गीत लेखिने र गाइने क्रम कम भएका बेला मेरो देश नेपाल गीत सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए। कोरोना संक्रमणपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखापरेका उनले गीत तथा भिडियोको टिमलाई बधाईसमेत दिए। विशेष अतिथि धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारीले आफूलाई गीतका शब्द, संगीत र गायनले छोएको जनाउँदै अझै यस्तै गीतमा निरन्तरता दिन आग्रह गरिन्।

गायिका हर्षुले मेरो देश नेपाल र आफ्नो पुरानो गीत चेलीको सिन्दुर पुछियो बोलका गीत सुनाएकी थिइन्। २०४३/०४४ सालबाटै जनवादी गीत गाउन शुरू गरेकी गायिका हर्षु राईले पञ्चायत कालमा हिमायती समूहसँगै मिलेर गीत मार्फत खबरदारी गर्ने गर्थिन्। २०४७ सालताका पूर्वका गाउँ–गाउँमा चेलीको सिउँदो पुछियोजस्तो जनवादी गीत गाउँदै हिँड्ने हर्षुले हिमायती समूहबाट आकाशमा उड्ने चरी, झरझर झरनालगायतका गीत पनि गाएकी छिन्। मेरो देश नेपाल गीतको म्युजिक भिडियो सिल्भर इन्टरटेनमेन्टको युट्युब च्यानलमा अपलोड गरिएको छ।