खुला सिमाना दुवै देशका लागि वरदान : पूर्व भारतीय राजदूत रे

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

नेपालका लागि भारतका पूर्व राजदूत रञ्जित रेले नेपाल–भारतबीचको खुल्ला सिमाना दुबै देशका लागि ठूलो सम्पत्ति भएको बताउनुभएको छ । हालै प्रकाशित काठमाडौं डिलेमा : रिसेटिङ इन्डिया–नेपाल टाइजका लेखक नेपालका लागि भारतका पूर्व राजदूत रञ्जित रेले नेपाल–भारत मैत्री समाजले मंगलबार राजधानीमा आयोजना गरेको रिसेप्सन कार्यक्रममा यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

खुला सिमानाका कारण आपराधिक गतिविधि, अवैध हातहतियारको व्यापार र चेलीबेटी बेचबिखन बढेको भन्दै खुला सिमानालाई अभिसापको रुपमा व्याख्या भैरहेको बेलामा पूर्व भारतीय राजदूत रेले भने खुला सिमानालाई वरदानको रुपमा लिनुपर्ने धारणा अघि सार्नुभएको छ ।

उहाँले खुला सीमालाई हतियारधारी सुरक्षाकर्मीहरूको भरमा नियमन तथा नियन्त्रण गर्नुभन्दा दुबैतर्फका स्थानीय बासिन्दाले खुशीखुशी आफै निगरानी राख्ने परिस्थिति सिर्जना गर्नु उत्तम हुने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा उहाँले भारतले नेपालमा हस्तक्षेप गरेको भन्ने धारणाप्रति फरक मत राख्दै नेपालको शान्ति, स्थिरता र सुरक्षा भारतको एक मात्र चासो भएको जिकिर गर्नुभयो ।

उहाँले नेपालमा राजनीतिक अस्थिरता र अशान्ति फैलिएमा त्यसको प्रत्यक्ष असर भारतमा पनि पर्ने भएकोले नेपालप्रति भारतको चासो बढी प्रकट भएको बताउनुभयो । कुटनीतिक व्यक्तित्वका रुपमा नेपालका नेतृत्व वर्गसँग भएका कुराकानीलाई गोप्य नराखि पुस्तकको रुपमा सार्वजनिक गर्नु कतिको उचित हो भन्ने प्रश्नको उत्तरमा पूर्व भारतीय राजदूत रेले पुस्तक लेख्नुअघि आफूले पनि उक्त विषयमा निकै सोचेको बताउनुभयो ।

उहाँले नेपाल–भारतबीचका समस्याहरू ज्यूँका त्यूँ रहनुमा दुई देशबीचको सम्बन्धमा पारदर्शिता नहुनु पनि एक कारण रहेको आफ्नो ठम्याइका कारण सम्बन्धमा पारदर्शिता ल्याउन र जवाफदेहिता बढाउन पनि पुस्तक लेख्नु गलत नभएको स्पष्टोक्ति दिनुभयो ।

कार्यक्रममा नेपाल–भारत मैत्री समाजका अध्यक्ष प्रेम लस्करेले नेपालमा नयाँ राजनीतिक परिवर्तन र संविधान निर्माणको जटिल समयमा भारतीय राजदूत रेको योगदान निकै महत्वपूर्ण रहेको भन्दै पुस्तकले नेपाल–भारतबीचका मुद्दाहरूलाई नयाँ ढंगबाट सोच्ने र समाधान निकाल्न प्रेरित गर्ने बताउनुभयो ।

काठमाडौं डिलेमा ः रिसेटिङ इन्डिया–नेपाल टाइजमा पूर्व भारतीय राजदूत रञ्जित रेले ‘उनीहरू हामीलाई किन मन पराउँदैनन्’ भनेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई सोधेको प्रश्नदेखि लिएर माओवादी आन्दोलन, नयाँ संविधान, विवादित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा, आर्थिक साझेदारी, रोटीबेटी सम्बन्ध, उत्तरी छिमेकीका बारेमा आफ्नो अनुभवसहितको बिचार पस्कनुभएको छ ।