काठमाडौंमा चोरी गर्ने समूह प्रहरीको नियन्त्रणमा


काठमाडौँ ।

राजधानीका विभिन्न ठाउँमा चोरी गर्दै हिँड्ने चोरको समूहलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरी सार्वजनिक गरेको छ । पछिल्लो पटक राजधानीको सितापाईलास्थित निर्मल गिरीको घरबाट ३ लाख ५८ हजार भन्दा बढी मुल्यको सामान चोरी गरी फरार रहेका ब्यक्तिको खोजीमा जुटेको महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई पक्राउ गरेको गरेको हो ।

प्रहरीले रामेछापका कमल थापा मगर, धनलाल थापा मगर, पाँचथरका हरिप्रसाद रसाइलीलाई पक्राउ गरेको छ । उनीहरूले राजधानीका विभिन्न ९  ठाउँमा चोरी गरेको प्रहरीलाई बयान दिएका छन । उनीहरूले मुलपानीस्थित देवी बचत तथा ऋण सहकारी संस्थाबाट २० लाख भन्दा बढीको नगद र जिन्सी चोरी गरेका थिए । तीनकुनेस्थित हिलटप सहकारी संस्थाबाट १ लाख ३७ हजार ५ सय, स्वयम्भूस्थित रुपेश घलानको घरमा कोही नभएको अवस्थामा ४ लाख ८० हजार बराबरको घनमाल चोरी गरेका थिए । सोही समूहले सीतापाईला स्थित विश्वनाथ खनालको घरबाट ३ लाख १० हजार बरावरको घनमाल चोरी गरेको प्रहरीले जनाएको छ ।

रातको समयमा चोरी गर्दै हिँड्ने सो समूहले कागेश्वरी मनहरास्थित दिदी सहकारी संस्थाबाट २ लाख १० हजार चोरी गरेको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिनुभयो । सोही समूहले सीतापाइलास्थित बुद्ध टोलमा रहेको कृष्ण लामाको घरबाट ४ लाख ३० हजार बराबरको विभिन्न सामान लुटेर लगेका थिए ।

स्वयम्भूस्थित आरक्ष बचत तथा ऋण सहारी संस्थाबाट १ लाख २३ हजार बरावरको सामान चोरी गरेको सो समूहले सीतापाइलास्थित शिवप्रसाद लामिछानेको घरबाट १५ लाख बरावरको विभिन्न धनमाल चोरी गरेका थिए । सोही समूहले शंखमुलस्थित स्वविबेक बचत तथा ऋण सहकारी संस्थाबाट १ लाख नगद चोरी गरेको प्रहरीको अध्ययनले देखाएको छ ।