द्वन्द्व पीडित भनेर जारी गरेको परिचयपत्र देखाएर सिंहदरबार प्रवेश गर्न पाइने


काठमाडौँ । 

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट परिचयपत्रप्राप्त गरेका द्वन्द्व पीडितले त्यही परिचयपत्र देखाएर सिंहदरबारमा प्रवेश पाउने भएका छन् ।
आइतबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँण र आयोगका पदाधिकारी बीच भएको छलफलमा आयोगले जारी गरेको परिचय पत्रवाहकलाई सिंहदरबारमा प्रवेश दिने सहमति बनेको हो ।

आयोगका अध्यक्ष युवराज सुवेदी, सदस्यहरू विश्वप्रकाश भण्डारी, डा. गंगाधर अधिकारी, सुनिल रंजन सिंह र सरिता थापा तथा सचिव श्यामकुमार भट्टराई आयोगले अहिलेसम्म गरेकाकाम र अब गृह मन्त्रालयसँगको समन्वय गर्नेका बारे छलफल गर्न मन्त्रालयमा आउनुभएको थियो । छलफलमा गृह मन्त्रालयका तर्फबाट मन्त्री खाँण, सचिव टेकनारायण पाण्डे र मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल सहभागी हुनु हुन्थ्यो ।

आयोगका पदाधिकारीले तत्कालका लागि आयोगले परिचयपत्र प्रदान गरेका द्वन्द्व पीडितलाई त्यही पास देखाएर सिंहदरबार छिर्ने व्यवस्था गरिदिन आग्रह गर्नु भएको थियो । आग्रह अनुरुप आयोगको परिचयपत्र भएकाहरूलाई  सिंहदरबारमा प्रवेश गर्न दिने व्यवस्था मिलाउन गृहमन्त्री खाँणले निर्देशन दिनुभएको गृहमन्त्रालयका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।उहाँले त्यस विषयमा आजै परिपत्रगरिने बताउनु भयो ।

गृहमन्त्री खाणसहित मन्त्रालयका पदाधिकारी र आयोगका पदाधिकारीबीच पीडित परिवारलाई राहत उपलब्ध गराउने, आयोगले परिचय पत्रदिएका व्यक्तिहरूले पाउने सेवा सुविधा, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ मा संशोधनलगायत विषयमा छलफल भएको थियो ।

आयोगले अहिलेसम्म ७४४ परिवारका एक हजार तीन सय ७८ जनालाई परिचयपत्र प्रदान गरेको छ ।आयोगका प्रवक्ता डा. गंगाधर अधिकारीका अनुसार आयोगमा अहिलेसम्म तीनहजार दुई सय ४३ ले आफ्नो परिवारका सदस्य बेपत्ता भएको भनेर उजुरी दिएका छन् । त्यस मध्य आयोगले दुई हजार चार सय ९७उजुरीमाथि विष्तृत अनुसन्धान भइरहेको प्रवक्ता डा. अधिकारी ले जानकारी दिनुभयो ।