२ दिनका लागि २७९ वुथमा ५५८ स्वास्थ्य स्वयंसेविका परिचालन 


काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाले आज र भोलि गरेर आफ्नो क्षेत्रका करीब ८० हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ । राष्ट्रिय भिटामिन ए कार्यक्रमको पहिलो चरणअन्तर्गत महानगरले यो लक्ष्य राखेको हो । आज वडा २१ क्लिनिकमा गएर महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कार्यक्रम सुरु गर्नुभयो । महानगरले २७९ वुथबाट कार्यक्रम चलाउन ५५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेको छ ।

कार्यक्रम सुरु गर्दै प्रमुख शाक्यले, महानगरले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य सेवामा सेवाग्राहीको आकर्षण बढाउने गरी विश्वसनीय सेवा दिन स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । ‘हामीले आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिइरहेका छौँ । तर कतिपय सेवाग्राहीहरू पैसा तिरेर निजी क्लिनिकमा गइरहनुभएको छ । गएको वर्ष हामीले वितरणका लागि तयार पारेको सबै औषधि वितरण भएन । हामी निःशुल्क सेवा दिन्छौँ भन्दा नागरिक किन निजीतिर आकर्षित हुनुहुन्छरु हामीले हाम्रा सेवाको समीक्षा गर्नुपर्छ ।’ प्रमुख शाक्यले भन्नुभयो, ‘हाम्रो स्वास्थ्य सेवामा नागरिकको आकर्षण बढाउनुपर्छ ।’

त्यस क्रममा उदय चुडामणि बज्राचार्यले, निःशुल्क स्वास्थ्य र शिक्षाका लागि आफूहरूले प्रयास गरिरहेको बताउनुभयो ।

महानगरकी जनस्वास्थ्य अधिकृत मञ्जु मास्केकाअनुसार ०७८ वैशाख ६ र ७ गते सञ्चालन गरिएको कार्यक्रममा ६ महिनादेखि १ वर्षसम्मका ५ हजार ९९५ जना र १ वर्षदेखि ५ वर्षसम्मका ५३ हजार ५४३ गरी जम्मा ५९ हजार ५३८ जनालाई भिटामिन ए क्याप्सुल दिइएको थियो । त्यसै गरी ३ सय जना सुत्केरीलाई भिटामिन ए क्याप्सुल दिइएको थियो । त्यसै गरी ५३ हजार ८०३ जनालाई जुकाको औषधि दिइएको थियो ।

महानगरले हरेक अभिभावकलाई ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए कार्यक्रममा सहभागी गराउन आग्रह गरेको छ । यस कार्यक्रममा बालबालिकालाई भिटामिन ए सँगै जुकाको औषधि खुवाइन्छ । रतन्धो र कुपोषणबाट बचाउन सञ्चालन गरिएको यस कार्यक्रममा आउने अभिभावकलाई — भिटामिन ए पाइने र घरमै पाइने खाद्यवस्तुका बारेमा जानकारी दिने गरिएको छ ।

कार्यक्रममा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइन्छ भने १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइन्छ ।