आजदेखि पहाडी जिल्लामा हवाई उडान सुरु


गोदावरी । 
नेपाल वायुसेवा निगमले आजदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सुरु गरेको छ ।  वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध भएकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै हवाई सेवा सुरु गरिएको हो । धनगढीलाई आधार बनाएर पहाडी जिल्ला बझाङ र डोटीमा  हवाई सेवा सञ्चालन गर्न आजदेखि परीक्षण उडान गरिएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताउनुभयो ।
पहाडी जिल्लामा हवाई सेवा सुरु भएपछि यहाँका बासिन्दालाई राहत मिलेको छ । हवाई भाडा सस्तो भएकाले  नियमित उडान गर्नुपर्ने यहाँका बासिन्दाको माग छ । धनगढीदेखि डोटी दुई हजार ६१५ र डोटीबाट धनगढी दुई हजार ५१५ भाडा दर कायम गरिएको छ । धनगढीदेखि बझाङ तीन हजार ९९५ र बझाङदेखि धनगढी तीन हजार ८९५ हवाई भाडा दर कायम गरिएको प्रमुख भट्टले जानकारी दिनुभयो
धनगढीबाट पहाडी जिल्लामा निगमले हवाई उडानका लागि तालिका सार्वजनिक गरिसकेको थियो ।