लोकसेवाको तयारी कक्षा सञ्चालन

294
Shares

अमृत अर्याल, स्याङ्जा  ।

स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा प्रशिक्षण सुरु गरेको छ । नगरपालिकाले शैक्षिक बेरोजगार न्यूनीकरणमा जोड दिँदै स्वास्थ्य सेवातर्फ अहेब÷अनमीको एक महिने निःशुल्क तयारी कक्षा प्रशिक्षण सुरु गरेको हो ।

‘मानव संसाधनको विकास समृद्धिको निकास–समृद्ध स्मार्ट वालिङ निर्माणको आधार, शून्य शैक्षिक बेरोजगार’ भन्ने मुल नारालाई आत्मसात् गर्दै नगरपालिकाले तयारी कक्षा सञ्चालन थालेको नगर प्रमुख दिलीप प्रताप खाँणले बताउनुभयो । “सरकारी सेवामा स्याङ्जा जिल्लाको छुट्टै पहिचान छ, त्यसलाई अझै पुष्टि राख्नुकासाथै पहिचानलाई जोगाई राख्नका लागि पनि हामीले निःशुल्क तयारी कक्षा सञ्चालन गरेका हौँ” प्रमुख खाँणले भन्नुभयो, “आगामी दिनमा वालिङका कर्मचारीलाई सरकारी सेवामा बढीभन्दा बढी उत्तीर्ण बनाउने लक्ष्यसहित अगाडि बढेका छौँ ।”

नगरपालिकाले लोकसेवा आयोगले हाल माग गरेको अहेब/अनमी पदलाई लक्षित गरी तयारी कक्षा सञ्चालन गरेको हो । यसअघि गतवर्ष नगरपालिकाले निशुल्क रुपमा नायब सुब्बा र खरिदारको तयारीका लागि प्रशिक्षण कक्षा सञ्चालन गरेको थियो ।

पहिलो चरणमा नायब सुब्बा र खरिदारलाई लक्षित गरी निशुल्क रुपमा तयारी कक्षा सञ्चालन ग¥यौँ” प्रमुख खाँणले भन्नुभयो, “त्यसको उपलब्धि राम्रो देखियो, तयारी कक्षा सञ्चालनको प्रभावकारिता राम्रो भएकाले यस पटक प्राविधिक धारतर्फको स्वास्थ्य सेवाको अहेब र अनमीका लागि तयारी कक्षा सञ्चालन सुरु गरेका हौँ ।”

नगरपालिकाले आगामी दिनमा बैंकिङ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनामा प्रवेश गर्न चाहनेहरूका लागि पनि गर्नुपर्ने सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरु सञ्चालन गर्ने तयारी गरिरहेको प्रमुख खाँणले जानकारी दिनुभयो । नगरभित्रका शिक्षित युवायुवतीलाई लक्षित गरिएको यस अभियानमार्फत शैक्षिक बेरोजगारी हटेर जाने नगर उपप्रमुख कल्पना तिवारीले दाबी गर्नुभयो ।

नेपाल सरकारका विभिन्न परीक्षामा यहाँको जनशक्ति उत्कृष्ट भई सरकारी सेवामा कार्यरत हुनका लागि सघाउ पुग्ने विश्वास नगरपालिकाले लिएको उपप्रमुख तिवारीको भनाइ थियो । नगरभित्र रहेका शैक्षिक बेरोजगार जनशक्तिका लागि लोक सेवा आयोगको तयारीका लागि टाढा–टाढा जानुपर्ने बाध्यता हटेर जाने र आफ्नै ठाउँमा निःशुल्क अध्ययन गर्न पाउने भएकाले पनि इच्छुकहरूका लागि उपयोगी हुने शिक्षा शाखा प्रमुख बाबुराम सापकोटा बताउनुहुन्छ ।

पायोनियर एकजुकेशन एकेडेमीका प्रिन्सिपल मेघराज गैहे«ले वालिङ नगरपालिकाले यहाँका युवायुवतीहरूलाई लक्षित गरेर थालेको यो अभियान स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले शैक्षिक योग्यता हासिल गरेर बेरोजगार रहेकाहरुका लागि एउटा अवसर भएकाले मेहेनतका साथ लाग्न पनि सहभागीहरूलाई सुझाव दिनुभयो ।

तयारी कक्षा सञ्चालनका लागि काठमाडौँ, पोखरा तथा वालिङमै लामो समयसम्म अनुभव प्राप्त प्रशिक्षकहरुमार्फत सैद्धान्तिक र प्रयोगात्मक कक्षा सञ्चालन गर्ने वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो ।

लोक सेवा आयोगले तयार पारेको तथा सम्भावित पाठ्यक्रमका आधारमा तयारी कक्षा सञ्चालन गरिने पायोनियर एजुकेशन एकेडेमीका प्राविधिक कक्षा प्रमुख हिमनिधि पङ्गेनीले जानकारी दिनुभयो । यो अभियान नगरपालिकामै पहिलो भएको उहाँको दाबी छ । तयारी कक्षा सञ्चालनका लागि प्राप्त भएका आवेदनहरुका आधारमा हाल ८० जना महिला पुरुष प्रशिक्षार्थीहरू सहभागी छन् ।