न्युज अफ नेपाल, कास्की ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ मा प्रस्ताव गरिएको एन्फा टेक्निकल सेन्टर निर्माण स्थलको शुक्रवार अवलोकन गरेका छन् । कास्की मात्रै होइन गण्डकीकै र नेपालकै लागि गौरव हुने गरी पोखरा नजिकै अखिल नेपाल फुटबल संघले एन्फा टेक्निकल सेन्टरको अवधारणा अघि सारेको हो ।
फिफाको लगानीमा बन्ने उक्त सेन्टरको प्रारम्भिक पूर्वाधारका लागि गण्डकी प्रदेश सरकारले पनि लगानी गर्ने प्रतिबद्धता मुख्यमन्त्री पोखरेलले जनाउनु भएको छ । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश समृद्धिको मुल आधार पर्यटन भएको र पर्यटन भित्र खेलकुदका गतिविधिलाई समेट्न सकिने भनाइ राख्नु भयो ।
पोखराबाट नजिकै अनि हिमालको काखमा प्रस्ताव गरिएको टेक्निकल सेन्टर निर्माण भएमा पोखरा, गण्डकी मात्र होइन नेपालकै लागि गौरव गर्न लायक हुने विश्वास व्यक्त गर्नु भयो । फुटबल खेल अहिले हरेक परिवारको रुचीको विषय भएकाले पनि यसको प्रवर्द्धनका लागि लगानी गर्न मन सानो गर्न नपर्ने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘यो सेन्टरले पोखरा र माछापुच्छ्रेलाई विश्वसामु चिनाउने छ ।’ मर्दी र इदी खोलाको बीचमा रहेको खुला ठाउँमा सेन्टर प्रस्ताव गरिएको प्रदेशको क्षमता अनुसार तटबन्धका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
उक्त अवसरमा एन्फाका प्रमुख कार्यकारी अधिकृत गोकुल थापाले ३ सय ४२ रोपनी जग्गा २० वर्षका लागि भोग चलन गर्ने गरी सम्झौता भइसकेकोको जानकारी गराउनु भयो ।
डिपिआर तयार भइसकेर वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकेर मन्त्रालयमा बुझाइसकेको भन्दै अब छिटै शिलान्यास गरिने बताउनु भयो । उहाँका अनुसार अभ्यासका लागि ४ खेल मैदानसहित होस्टेल, जिम हल, गेस्ट रुम, स्विमिङ पुल, पुस्तकालय रहने गरी संरचना बनाउने प्रस्ताव पारित भएको छ ।
‘ड्रिम प्रोजेक्ट’ को रुपमा निर्माण गर्ने भनिएको ट्रेनिङ सेन्टरमा राष्ट्रिय फुटबल टिम, रेफ्री, प्रशिक्षक तथा विभिन्न उमेर समूहको अभ्यास तथा ट्रेनिङहरू सञ्चालन गर्ने लक्ष्य राखिएको छ । ८० जना बालबालिकालाई अभ्यासका लागि पनि राख्ने योजना छ । अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने गरेर सेन्टरलाई ४ चरणमा सक्ने तयारी छ । फिफाले एन्फाका लागि पठाएको २० लाख डलरबाट उक्त सेन्टर बनाउने योजना एन्फाको छ । पहिलो चरणका कामका लागि १७ करोड रुपैयाँ प्रयोग गरिने प्रमुख कार्यकारी अधिकृत थापाले बताउनुभयो ।
प्रस्तावित ठाउँ इदी र मर्दी खोलाको दोभानमा छ । हिउँदमा सानो हुने तर बर्खामा उर्लेर आउने मर्दी खोलाले कटान गर्ने भएकाले तटबन्धनको काम भने पहिले नै गर्नुपर्ने हुन्छ । यसमा फिफाले लगानी गर्दैन । तटबन्धका लागि गाउँपालिका र निर्वाचन क्षेत्र विकास कार्यक्रमको ५०/५० लाख रुपैयाँ गरी १ करोड रुपैयाँमा काम भइसकेको पालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी गराउनु भयो ।
उहाँका अनुसार तटबन्धका लागि साढे ४ करोड रुपैयाँ आवश्यक पर्छ । कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषद् अध्यक्ष तेजबहादुर गुरुङले नेपालकै लागि गौरवको यो योजना सफल पार्न सबै पक्ष एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनु भयो । लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचनले विभिन्न अड्चन बेहोर्दै परियोजना अहिलेको अवस्थामा आइपुगेको भन्दै अब छिटोभन्दा छिटो शिलान्यास गरेर काम थाल्नुपर्नेमा जोड दिनु भयो ।
एन्फा कास्की अध्यक्ष मिलन गुरुङले यो परियोजनालाई कमजोर बनाउन चारैतिरबाट आक्रमण भइरहे पनि आफूहरु निरन्तर लागिरहेकाले यो अवस्थामा आइपुगेको भनाइ राख्नु भयो । कार्यक्रममा एन्फा कास्की सचिव रमेश कार्की, माछापुच्छ्रे«े गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष हरिश्चन्द्र ढुंगानाले परियोजनाको महत्त्वका बारेमा आ–आफ्ना भनाई राख्नु भएको थियो ।
स्थलगत अनुगमनमा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले, मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोला, प्रमुख सचिव डा. दामोदर रेग्मी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव रामप्रसाद आचार्य, प्रदेश खेलकुद परिषद्का पदाधिकारी, राजनीतिक दलका स्थानीय प्रतिनिधि लगायतको सहभागी रहेको थियो ।
प्रतिक्रिया