स्वास्थ्यकर्मी नहुँदा जटिल शल्यक्रिया बन्द


नेपाल समाचारपत्र, सल्यान ।

जिल्ला अस्पताल सल्यानमा स्वास्थ्यकर्मी नहुँदा शल्यक्रिया र जटिल प्रसूति सेवा बन्द भएका छन् । चिकित्सक र स्वास्थ्यकर्मीको अभावमा शल्यक्रिया र जटिल प्रसूति सेवा बन्द भएपछि सल्यानसहित रुकुम पश्चिम र रोल्पाका केही भागका बिरामी समस्यामा परेका छन् ।

वनगाड कुपिण्डे नगरपालिकाकी रीता विक असोज ११ गते सुत्केरी हुन जिल्ला अस्पताल पुगिन् । उनी अस्पताल पुग्दा एक जनामात्र स्वास्थ्यकर्मी डिउटीमा खटिएका थिए, उनको बच्चा त जन्मियो तर बचाउन सकिएन । यस्तै, जयतपानीका कमला बुढाथोकी पनि सुत्केरी हुन अस्पताल पुगिन् । तत्काल अप्रेसन गर्नुपर्ने भएकाले अस्पतालले नेपालगञ्ज रिफर गरिदियो । यी दुई त उदाहरणका पात्र मात्र हुन् । उपचारका लागि आउने अधिकांश बिरामी पनि जिल्लाबाहिरै रिफर हुन थालेका छन् ।

स्वास्थ्यकर्मी नहुँदा अहिले जिल्ला अस्पताल आफैंमा बिरामीजस्तै देखिएको छ भने भरिभराउ हुने अस्पतालका श्यया पनि खाली हुँदै गएका छन् । अस्पतालमा १३ जना स्टाफ नर्स र अनमीको दरबन्दी भए पनि अहिले अस्पतालमा कुनै पनि स्वास्थ्यकर्मी नभएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार एक वर्षअघि ७ जनालाई करार सेवामा भर्ना गरिएको थियो । तर, प्रदेश सरकारले बजेट नपठाएको भन्दै उनीहरूलाई हटाइएपछि स्वास्थ्यकर्मीको अभाव भएको अस्पताल इन्चार्ज डाक्टर एन्जिला श्रेष्ठ बताउनुहुन्छ  । स्वास्थ्यकर्मी अभाव भएपछि बाध्य भएर शल्यक्रियाका सेवा बन्द गर्नुपरेको उहाँको भनाइ छ । ‘अस्पतालमा दिनमा १० जनाभन्दा बढी सुत्केरी हुन आउने गरेका छन्, डा. श्रेष्ठ भन्नुहुन्छ– ‘तर, स्वास्थ्यकर्मी नहुँदा अहिले त सामान्य प्रसूति सेवा दिन पनि सकिरहेका छैनौं ।’ जटिल प्रसूति सेवा बन्द भएपछि बिरामी ३० हजारभन्दा बढी महँगो भाडा तिरेर जिल्लाबाहिर रिफर हुने गरेका छन् ।

अहिले ६ जना महिला स्वास्थ्यकर्मी मात्र कार्यरत छन् । जिल्ला अस्पतालमा ८ जना चिकित्सकको दरबन्दी भए पनि अहिले ४ जना मात्र कार्यरत छन्, त्यो पनि करारका चिकित्सक हुन् । विभिन्न कार्यक्रमबाट करारका स्वास्थ्यकर्मी भर्ना गरे पनि बजेट आउन छोडेपछि उनीहरूलाई हटाउनुपरेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

स्वास्थ्यकर्मी व्यवस्थापनका लागि बारम्बार प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई जानकारी गराए पनि अहिलेसम्म नसुनेको स्वास्थ्य व्यवस्थापक दशरथ श्रेष्ठले बताउनुभयो । एक महिना अघिसम्म दैनिक १ सय जनासम्म बिरामी आउने गरेकोमा अहिले २०/२५ जना बिरामी मात्र आइरहेका उहाँले सुनाउनुभयो ।