पुस्तक चर्चा ‘जीवन दर्पण’ को व्यथा र विवेचना

940
Shares

सानुकाजी वज्राचार्य ।

बुढेसकालको आगमन र अनुभूतिसँगै केही भोग–भुक्तमान, अतीत र वर्तमानको यथार्थता, देखेका, सुनेका र भनेका कहावतका अतिरिक्त आफ्ना धारणा अनि सोचसहित केही संस्मरण वा चिनो छोडी यस नश्वर शरीर त्याग्ने अभिलाषा मनमा पलायो । श्लोक, कविता, गीत, कथा, टुक्का आदि माध्यमबाट चलायमान हुन असजिलो र अप्ठ्यारो महसुस भइरहेको बेला कोही साथीले जीवन कहानी लेख्न घचघच्याउँदा उहाँहरुको सल्लाह–सुझाव राम्रै लाग्यो । अरु विधाबाट भन्दा यस विधाबाट प्रस्तुत भई आफ्नो कुरा राख्दा सरल र सजिलो हुने देखिएकोले फलस्वरुप ‘सानु जीवन दर्पण’ नामक कृतिको सृजना भयो ।

आदरणीय ज्येष्ठ व्यक्तित्व एवम् वरिष्ठ पत्रकार भैरव रिसालज्यूले मन्तव्य लेख्ने क्रममा ‘बैँस र वैवाहिक प्रसङ्ग’को विषयलाई ‘आनन्दातिरेक’ शब्द प्रयोग गर्दै श्रीमती जीवित नै भएको भए यति पनि लेख्न दिनुहुँदैनथ्यो होला भन्ने भावना व्यक्त गर्नुभएको छ । यस विषयमा पत्रकार रिसालज्यूसँग विचार–विमर्श हुँदा ‘मैले उनी (श्रीमती) लाई सम्झाई–बुझाई स्वीकृति लिन सक्ने बलियो आधार र विश्वास बाँडेको थिएँ ।

वास्तवमा यो प्रसङ्ग जतिसुकै अश्लील, अशोभनीय र अपाच्यजस्तो लागे तापनि दर्पणमा समेटिनु नितान्त जायज र अनिवार्य थियो । यसलाई नसमेटिँदा मुटुविनाको मानवजस्तै अपुरो र अधुरो रहने मनमा उब्जिएको थियो । तसर्थ किमार्थ म यस विषयलाई दर्पणमा छुटाउने पक्षमा थिइन । अनि यसको मुख्य पात्र म स्वयम् नायक वा खलनायक, अज्ञानी वा अपराधी जे भए पनि कसैको मान, सम्मान र प्रतिष्ठामा आँच र चोट नपर्ने गरी लेखमा उतार्दा पारखी पाठकहरुबाट समेत यस सार्वजनिक महत्वको विषयलाई गहिरिएर अध्ययन गर्दै ज्ञानवद्र्धक अर्ति, उपदेश र सन्देशको प्रबल सम्भावना बोकेको थियो । यसका साथै अज्ञानता, बाध्यता र विवशताले गर्दा निषेधित कार्य हुनुमा समेत इमानदारितालाई पछ्याई मन हलोङ्गो पारिएको र लुकिछिपी यस्तो गैरकानुनी कार्य हुन सक्ने प्रशस्त मात्रा र अवस्थाको ढोकासमेत खोलिएको थियो ।

सरसर्ती हेर्दा जीवनी लेख्न सजिलो देखिए तापनि वास्तविकता ठीक विपरीत थियो । दर्पण लेख्दै गर्दा मेरो खुलापन, स्वभाव, चरित्र र आनिबानीको समेत चाल पाएकाले परिवारको कुनै सदस्यले दर्पण छाप्नुपूर्व परिवारसमक्ष वाचन हुनुपर्ने तर्क पेस गर्दा मैले ठाडै चित्त नबुझे अदालतको ढोका घचघच्याउनू भनी व्यङ्ग्यात्मक जवाफ फर्काएको याद रहेको छ । यसरी दर्पण लेखनको समाप्तिसम्ममा अन्जानवश कसैको भावना, विचार, प्रतिष्ठा र पहिचानमा हानि–नोक्सानी पर्न गएमा क्षमाप्रार्थी छु । सकभर प्रत्यक्ष वा अप्रत्यक्षरुपमा असर नपरोस् भन्नेतर्फ नै सजग र सचेत रहेको छु । अझ बढी खुल्न नसक्ने अवस्थामा समेत भावना, उदाहरण र उपमाको रुपमा उजागर गरेको छु ।

पुस्तक लोकार्पणमा समेत राजनीतिक व्यक्तित्वलाई प्राथमिकतामा नराखी ज्येष्ठता र विद्वतालाई कदर गर्दै वरिष्ठ पत्रकार भैरव रिसाल, डा. खगेन्द्रबहादुर श्रेष्ठ र पूर्वप्रधानाध्यापक योगेन्द्ररत्न (भाइराजा) वज्राचार्यलाई प्रमुख अतिथिको भूमिकामा उभ्याई जागरणको खाँचो र दृष्टान्त पेस गरिएको छ ।

आत्मकथा, जीवन वृत्तान्त, जीवन दर्पण आदि लेखनमा बकम्फुसे बखान, बठ्याइँ, बडप्पन, सुकर्म, कीर्ति आदिलाई मात्र घुसाई मिथ्या र छद्मभेषी तरिकाले सिँगार्ने/सजाउने भए त सरल र सजिलो होला, तर निष्कपट, निर्भयी र इमानदार भई ढाकछोपरहित सत्यतथ्यलाई लोकार्पण गर्ने हो भने निःसन्देह मुस्किल र कठिन नै छ । अबगाल, अबजस, कचकच, कचमच र कचिङ्गलको भारी नै बोक्नुपर्ने अवस्था आउन सक्छ । यही मेरो जीवन दर्पण लेखनको व्यथा, विवेचना, निक्र्यौल, निष्कर्ष र निचोड रहेको छ ।

(सानुकाजी वज्राचार्य ‘सानु जीवन दर्पण’का लेखक हुनुहुन्छ ।)