प्रतिनिधिसभाको अवरोध खुलाउन पहल पहल भइरहेको छ : सभामुख सापकोटा

252
Shares

चौतारा ।

सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा भएको अवरोध हटाउन औपचारिक र अनौपचारिकरूपमा पहल भइरहेको बताउनुभएको छ । सिन्धुपाल्चोकको कुभिण्डेमा दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडको २९औँ साधारणसभाको उद्घाटनका अवसरमा सभामुख सापकोटाले यही कात्तिक ११ गते बस्ने प्रतिनिधिसभाको बैठकअगावै संसद् सञ्चालन गर्न आवश्यक छलफलका लागि पुनः बैठकको आयोजना गरिने बताउनुभयो ।

प्रतिनिधिसभालाई प्रभावकारी, गतिशील र जनमुखी बनाउने एकमात्र लक्ष्य रहेको उल्लेख गर्दै सभामुख सापकोटाले आफू त्यसैमा केन्द्रित भएर काम गर्ने दृढता व्यक्त गर्नुभयो ।

मौसममा आएको परिवर्तनले अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिराले ठूलो धनजनको क्षति पुगेकामा दुःख व्यक्त गर्दै सभामुख सापकोटाले मुखमै आएको धानबाली नोक्सान भएकामा पीडित परिवारलाई राहत उपलब्ध गराउन गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । संस्थाका अध्यक्ष नेत्रप्रसाद नेपालको सभापतित्वमा भएको कार्यक्रममा आफू कसैको दबाब र कुनै शक्तिसँग झुकेर राष्ट्र र जनताको हितविपरीत काम नगर्ने प्रतिबद्धता पुनः दोह-याउनुभयो ।

चौतारा साँगाचोकगढी नगरपालिका–४ कुभिण्डेमा अवस्थित उक्त सहकारी संस्था जिल्लाकै पहिलो हो । वार्षिक पाँच लाख ७५ हजार लिटर दूध उत्पादन हुने र आफ्नै चिस्यान केन्द्रमार्फत दुग्ध विकास संस्थान बालाजुमा पठाइने गरेको अध्यक्ष नेपालले जानकारी दिनुभयो ।