११ लाख लिएर आफन्तले बुझे सीता भण्डारीको शव


न्युज अफ नेपाल ,बुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी २७ वर्षीया सीता भण्डारीको शव ४६ दिनमा आफन्तले बुझेका छन् । आत्महत्या गरेको भनिएकी सीताको मृत्युको विषयलाई लिएर आन्दोलन चर्केपछि माइती पक्षले शव उठाएका थिएनन् । आत्महत्या दुरुत्साहन मुद्दामा जिल्ला अदालत रुपन्देहीले मृतकका श्रीमान्, जेठाजु र आमाजूलाई पुर्पक्षका लागि कारागार चलान गरिसकेको छ ।

उनीहरुलाई कारागार चलान गरेको करिब दुई साता बित्दा पनि माइती पक्षले आर्थिक लेनदेनको विषयमा कुरा नमिल्दा शव उठाउन मानेका थिएनन् । तर दुई पक्षबीच भएको छलफलमा ११ लाख माइती पक्षलाई दिने गरी सहमति भएपछि शव उठाएर तिनाउको मगरघाटमा दाहसंस्कार गरिएको छ ।

स्रोतका अनुसार सीताका माइती पक्षले घरतर्फ अर्थात् पौडेल परिवारबाट ११ लाख रुपैयाँको चेक बुझेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका १७ स्थित गंगोलियामा एकजना मध्यस्थकर्ताको घरमा मंगलबार लिखित सहमति भएको थियो । मंगलबार दुई पक्षबीच भएको सहमतिमा माइती पक्षले पौडेल परिवारबाट ११ लाख बुझ्ने र आगामी दिनमा अदालती प्रक्रियामा हस्तक्षेप नहुने गरी कुनै आन्दोलन नगर्ने सहमति भएको छ ।