पहिरोले घर भत्किँदा एकको मृत्यु, एक बालिका घाइते


कालीबहादुर मल्ल, कालिकोट ।

लागातारको अविरल वर्षापछि गएको पहिरोले सोमबार राति एक घर भत्किँदा महाबै–७ राम्नीकी १८ वर्षीया स्मृति अधिकारीको मृत्यु भएको छ । सोही घरभित्र सँगै सुतेकी उनकी १५ वर्षीया बहिनी इशानी अधिकारी भने घाइते भएको जिलला प्रहरी कार्यालयले जनाएको छ ।

कालिकोटका प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहका अनुसार घरमा सुतिरहेको बेला राम्नीका विष्णुलाल अधिकारीको घर भत्किँदा उनकी जेठी छोरी स्मृतिको घटनास्थलमै मृत्यु भएको थियो भने कान्छी छोरी घाइते अवस्थामा उद्दार गरिएको हो ।घाइते इशानीलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । पहिरोले सोही गाउँका पाँचवटा घरहरु भत्किएका छन् भने २५ घर जोखिममा छन् । जोखिममा रहेका २५ घर परिवारलाई सोमबार राति स्थानीय राम मावि राम्नी र स्वास्थ्य चौकीको भवनमा सारिएको महावै गाउँपालिका उपाध्यक्ष मनराज शाहीले जानकारी गराउनु भएको छ ।

उहाँका अनुसरा सोमबार राति पादमघाट प्रहरी चौकी र सदरमुकाम मान्मबाट प्रहरी टोली घटनास्थल गएको प्रहरीले उद्दारा गरेको हो ।वर्षाले खाँडाचक्र नपा– ८ दशला गाउको माथिल्ला टोलका १८ पहिरोको उच्च जोखिमा रहेपछि घरपरिवार नजिकैको मल्लटोलमा विस्थापित भई बसेका छन् । यस्तै पहिरोले जिल्ला सदरमुकाम मान्म बजारको नाव गैराका १३ घर जोखिममा रहेको प्रहरीले जनाएको छ । साथै बजारस्थित एलना मेडिकल हलको पछाडिको पर्खाल भत्किँदा औषधि क्षति भएको छ ।

त्यस्तै, वर्षाले कर्णाली नदीमा बाढी आउँदा कर्णाली करिडोर जोड्न जितेस्थित कर्णाली नदीमा रहेको फेरि बगाएको छ । दसैं लगत्तै गाडी तार्न फेरि सञ्चालनमा ल्याउने तयारी भइरहेको थियो । फेरि बगाएपछि कर्णाली करिडोरमा गाडी लैजान कठिनाई हुने प्रजिअ कृष्णप्रसाद आचार्यले बताउनु भयो ।अविरल वर्षाले कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक ठाउँठाउँमा अवरुद्ध भएको छ ।

कर्णाली राजमार्गको दैलेख पाल्ताडा, राकम, घट्टेखोला, दैखोला, कालीकोटको गगने, सेरि, सुनारखोला, मोल्फा, पिली सेरावाडालगायतका ठाउँमा पहिरोले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।वर्षाले जिल्लाभरी कृषकको पाकेर काटेकोे धान बालीमा बगाउनुका साथै कुहिएर नष्ट भएको छ ।