गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थल र एकिकृत भन्सार चौकीको कार्ययोजना तयार: गृहमन्त्री खाँण


यमलाल भुसाल, बुटवल ।

गृहमन्त्रीमा नियुक्ति भएको करिव ३ महिनामा आफनो गृह जिल्ला आउनु भएका बालकृष्ण खाँणले रुपन्देहीको समृद्धिको लागी सदैव प्रयत्नशिल रहने प्रतिवद्धता जनाउनु भएको छ । रुपन्देहीको विकासले देशकै विकासको आधारशिला तयार गर्ने भएकोले रुपन्देहीको विकासको लागी सार्थक प्रयत्न गर्ने उहाँले बताउनु भयो् ।
गृहमन्त्री भए पछि पहिलो पटक गृह जिल्ला आउनु भएका खाँणले भैरहवामा आयोजित कार्यक्रममा बोल्दै रुपन्देहीमा रहेको गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थल र एकिकृत भन्सार चौकीको बिकासको कार्ययोजना तयार पारेको बताउनु भयो । उहाँले बेलहियामा मालवाहक गाडीहरुको पार्किङको समस्यालाई समाधान गर्न अहिले आईसीपीको लागी खाली रहेको जग्गामा पार्किङ्गको ब्यवस्था मिलाउन तयारी गरिएकोबताउनु भयो ।

उहाँले बिमानस्थल छिटो भन्दा छिटो सन्चालनमा ल्याउन सार्थक प्रयास गरि रहेको समेत दावि गर्नु भयो । यस्तै गल्छी–चितवनमा सुरुङ मार्गको बिषयमा पनि सरकारले प्रयत्न गरि रहेको गृहमन्त्री खाणले बताउनु भयो । यो रुट तयार भएपछि काठमाण्डौं र बिशेष गरि पश्चिमी तराई क्षेत्र जोडिने सहज हुने बताउनु भयो ।फरक प्रसंङ्गमा बोल्दै गृहमन्त्री खाँणले अहिले कांग्रेस बिभिन्न गठबन्धन संग मिलेर सरकारमा जानु परेको जिकिर गर्नु भयो । कांग्रेसले नचाहदा नचाहदै निकास दिन सरकारमा गएको उहाँको कथन रहेको छ । उहाँले गठबन्धन प्रति सम्मान ब्यक्त गर्नु पर्ने बताउदै पार्टीलाई जोगाउदै गठबन्धनलाई सम्मान गर्नु पर्ने उहाँको भनाई रहेको थियो ।

नेपाली कांग्रेसका नेता प्रेम नारायण खरेलको शोक सभामा भाग लिन रुपन्देही आउनु भएका गृहमन्त्री खाँणले शोक सभा पछि बुटवलको ज्योतीनगरमा गएको पहिरोको निरिक्षण गरि समुचित ब्यवस्था गर्न, यहाका सुरक्षा निकायका प्रमुखहरु सित बैठक गर्नु भएको थियो ।नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका शिक्षा, बिज्ञान, युवा तथा खेलकुद मन्त्री वसिउद्दिन खाँन, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति रामचन्द्र ढकालले सचिव रामकृष्ण खाँण लगायतले कार्यक्रममा धारणा राख्नु भएको थियो ।