तिंकरमा अढाई फिट हिमपात


किरन धामी, दार्चुला ।

दार्चुलाको ब्याँस गाउँपालिका–१ तिंकरमा भारी हिमपात भएको छ । आइरतबार रातीबाट भएको वर्षाका कारण तिंकर गाउँमा अढाई फिट हिमपात भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक माधव विस्वकर्माले जानकारी दिनुभयो ।

तिंकर प्रहरी चौकीका अनुसार सो क्षेत्रमा सोमबार विहानैबाट हिमपात भइरहेको छ । चिसोका कारण असोज ३० गतेबाटै खानेपानीको पाइप जाम भएर पानीको आपुर्ति हुन नसकेको प्रहरीले जनाएको छ । तिंकरमा हिमपात भएपछि सदरमुकाम खलंगा लगायतका स्थानमा चिसो बढेको छ ।

ब्याँस गाउँपालिका–१ तिंकरमा सौका समुदायको बसोबास रहेको छ । भारी हिमपात भएपछि त्याहाको जनजिवन कष्टकर भएको प्रहरीले जनाएको छ । अहिले पनि तिंकरमा हिमपाती जारी रहेको जनाइएको छ । पश्चिमी वायुका कारण वर्षा भएपछि दार्चुलामा यसवर्षको पहिलो हिमपात भएको हो ।

३३ केभिए प्रशारण लाइनका पोल ढल्दा विद्युत अवरुद्ध

आईतवार राति हावा र हुरी सहित भएको वर्षाका कारण विद्युतिय पोल ढल्दा जिल्ला सदरमुकाम लगायत क्षेत्रको विद्युत पुर्ण रुपमा अवरुद्ध भएको छ । चमेलिया जल विद्युत आयोजनाबाट जिल्ला सदरमुकाम खलंगा सम्म विस्तार गरिएको ३३ केभिए प्रशारण लाईन अन्तरगतको बरमुडे क्षेत्रका ३ वटा पोल ढल्दा विद्युत पुर्ण रुपमा अवरुद्ध भएको हो ।

जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्वर ६ मा पर्ने वरमुडे क्षेत्रमा विस्तार गरिएको ३३ केभिए लाईनका पोलहरु हावा हुरीले ढलेर विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ । आईतवार राति ११ बजे अवरुद्ध भएको लाईन मर्मत हुन नसक्दा विद्युत सुचारु हुन सकेको छैन ।
दार्चुला वितरण केन्द्रका अनुसार सो क्षेत्रमा पोल गाड्ने कार्य भैरहेको र मौषम प्रतिकुल भएका कारण अवरुद्ध विद्युतीय लाईन सुचारु गर्न कठिनाई भईरहेको बताईएको छ ।

विद्युत अवरुद्ध हुँदा जिल्लामा सदरमुकाम खलंगा लगायत आसपासका क्षेत्रहरुमा अन्धकार भएको छ । ३३ केभिए लाईन विस्तारको क्रममा ठेकेदार र तत्कालीन प्राधिकरण प्रमुखको मिलेमतोमा चरम भ्रष्टाचार भएको यहाँका स्थानियले आरोप लगाएका छन् । विद्युतीय लाईन गुणस्तरीय नहुदा सामान्य हावाहुरी र पानी परेको बेला पनि लाईन अवरुद्ध हुने गरेको छ