उद्योगकै लगानीमा हुवासिन सिमेन्टलाई स्विचिङ स्टेशन


धादिङ ।

धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर २ ताल्तीमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगलाई विद्युत् आपूर्ति गर्ने स्विचिङ स्टेशन निर्माण भएको छ ।

तनहुँको मस्र्याङ्दी–स्यूचाटार १३२ केभी प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ मा निर्माण गरिएको स्विचिङ स्टेशनलाई चार्ज गरि संचालन हुने गरि तयारी गरिएको हुवासिन सिमेन्ट उद्योगमा जनसम्पर्क अधिकारी तुलसीजंग थापाले बताउनुभयो । हुवासिन सिमेन्टले २० मेगावाट विद्युत् लिने छ ।

तनहुँमा रहेको तल्लो मर्स्याङ्दी विद्युत् गृहबाट आएको प्रसारण लाइन स्विचिङ स्टेशनमा भित्रने र बाहिरिने छ। प्रसारण लाइनलाई स्विचिङ स्टेशनमा लुप इन गराएर हुवासिन सिमेन्टलाई विद्युत् आपूर्ति दिइने छ ।

विद्युत माग कम हुने समयमा स्टेशन चार्ज गरेर विद्युत उपलब्ध गराउन मिल्नेगरि तयारी गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । अन्य समयमा मस्र्याङ्दी–स्यूचाटार १३२ केभी ट्रंक लाइन बन्द गने सक्ने अवस्था नै थिएन, त्यसैले दशैँको बेलामा मिलाएर चार्ज गर्न दियौँ र टीकाको दिन स्विचिङ स्टेशन चार्ज भएको जानकारी दिनुभयो ।

हुवासिन सिमेन्टले आफ्नै खर्चमा स्विचिङ स्टेशन निर्माण गर्न गएको वर्ष सुरु गरेको थियो । कम्पनीले स्विचिङ स्टेशनबाट कारखानासम्म झन्ड १४ किलोमिटर प्रसारण लाइन र कारखाना परिसरभित्र १३२-१० केभीको सबस्टेशन निर्माण गरेको छ ।

स्विचिङ स्टेशनको निर्माणपछि गल्छी, नौबिसे क्षेत्रमा खुल्न लागिरहेका उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन पूर्वाधार तयार भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।तिहार अघि विद्युत उपलब्ध हुनेभएपछि हुवासिन उद्योगले परिक्षण उत्पादन गर्ने जनाएको छ ।