काभ्रेको पलाञ्चोक भगवतीको दर्शनमा राष्ट्रपति

‘भूकम्प पीडितले भने - घर बनाउन सहयोग पाउँ सरकार’

1.8k
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

राष्ट्रपति भए पछि हरेक वर्ष नवरात्रको अष्टमीको दिन काभ्रेपलाञ्चोक जिल्लाको पलान्चोक भगवती मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी हुने गरेको छ । राष्ट्रपति भण्डारीले अघिल्लो वर्ष कोभिड १९ को महामारीका कारण दर्शन नगरेको भए पनि अघिल्ला वर्षहरूको निरन्तरता दिँदै यो वर्ष पनि पूजाआजामा सरिक हुनु भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको साथमा उहाँकी कान्छी छोरी निशा कुसुम भण्डारी सहभागी हुनुहुन्थ्यो । जिल्ला स्थित जनप्रतिनिधि र सुरक्षा निकायको टोलीले राष्ट्रपति भण्डारीलाई पलान्चोक भगवतीको मन्दिर परिसरमा स्वागत गरेको थियो ।

मौसम अनुकूल नभएकाले निर्धारित समय भन्दा एक घण्टा ढिला गरी पलान्चोक भगवतीको दर्शनका लागि राष्ट्रपति पाँचखालसम्म हेलिकप्टर र त्यहाँबाट कार्यालयकै सवारी साधनमा पुग्नु भएको थियो । १५ मिनेट भित्रै दर्शन सकाएर राष्ट्रपति भण्डारी राजधानी फर्कनु भएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनु भयो ।

राष्ट्रपति भण्डारीको स्वागतका लागि जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, पनौती नगरपालिका प्रमुख भीम न्यौपाने, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, कालिजंग गण धुलिखेलका प्रमुख कर्णेल मिलन थापा, जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्री, अन्य सुरक्षा निकायका प्रमुखहरू, पाँचखाल नगरपालिका उपप्रमुख लक्ष्मी दनुवार, वडा अध्यक्ष किरण श्रेष्ठ, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र स्थानीयहरूले राष्ट्रपति भण्डारीको स्वागत गरेका थिए । राष्ट्रपति भण्डारीको दर्शन अवधिभर सर्वसाधारणलाई रोकिएको थियो ।

राष्ट्रपति भण्डारी दर्शन सकेर फर्कने क्रममा उहाँकै स्वागतका लागि कर्णेल बजाइरहनु भएका रामजी दर्जीले भूकम्पले ढलेको घरको पुनर्निर्माण हुन नसकेकाले सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । राष्ट्रपति भण्डारी समक्ष मन्दिरको पुनर्निर्माण र व्यवस्थापनका लागि सरकारलाई ध्यानाकर्षण गराउन स्थानीयहरूले अनुरोध गरेका थिए ।

भूकम्प पछिको पुनर्निर्माणको जिम्मेवारी स्थानीय सरकारलाई हस्तान्तरण गर्ने तयारी भएकाले छुटेका पीडितहरूको आवाज सम्बोधन गरिदिन राष्ट्रपतिले स्थानीय जनप्रतिनिधिहरूलाई अनुरोध गर्नु भयो । पाँचखाल नगरपालिका उपप्रमुख लक्ष्मी दनुवारलाई तत्काल दर्जीको समस्या सम्बोधन गर्न राष्ट्रपतिले ध्यानाकर्षण गराउनु भएको थियो ।

स्थानीय जनप्रतिनिधिहरूले भूकम्प पीडितका समस्या समाधानका लागि स्थानीय सरकारलाई अधिकार प्राप्त भए पछि छुटेका विषय सम्बोधन गर्ने बताउनु भयो ।