कैलपाललाई उपाधि


विनोद सिंह विष्ट, बैतडी ।

बैतडी–दार्चुलाको सीमाक्षेत्र गोकुलेश्वरमा सम्पन्न दोस्रो संस्करणको खुल्ला गोकुलेश्वर टि–२० क्रिकेट च्यालेञ्ज प्रतियोगिता २०७८ को उपाधि कैलपाल क्रिकेट क्लब, बैतडीले हात पारेको छ ।

गोकुलेश्वर खेल मैदानमा भएको फाइनल खेलमा कैलपालले सुशितम क्रिकेट क्लब, पन्ज्युनयाँलाई सुपर ओभरमा हराएको हो । दुवै टोलीले समान १ सय ३३ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । सुपर ओभरमा पहिला ब्याटिङ गरेको कैलपालले १२ रन बनायो । जवाफमा पन्ज्युनयाँले ३ रन मात्रै बनाउन सक्यो ।

त्यसअघि, टर हारेर पहिला ब्याटिङ गरेको पन्ज्युनयाँ निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३३ रन बनाएको थियो । जसमा सुदीप कार्कीले नटआउट ५४ रनको पारी खेले । कैलपालका महेश चन्दले ४ विकेट हात पारेका थिए । जवाफमा कैलपालले १९ दशमलब ४ ओभरमा अलआउट हुँदै  १ सय ३३ रन मात्रै बनाउन सक्यो । कैलपालका लागि प्रदीप चन्दले सर्वाधिक ४८ रन हिर्काएका थिए । पन्ज्युनयाँका गोपाल कार्कीले ३ विकेट झारे ।

उपाधिसँगै कैलापालले ६५ हजार ५ सय ५५ पुरस्कार हात पा¥यो भने पन्ज्युनयाँले २५ हजार ५ सय ५५ मा चित्त बुझायो । प्रतियोगितामा तेस्रो भएको टिम बित्थडले ११ हजार ५ सय ५५ पुरस्कार पायो । ‘म्यान अफ द फाइनल’ कैलपालका महेश चन्द भए ।यस्तै, ‘म्यान अफ द सिरिज’को उपाधि पन्ज्युनयाँका अशोक कार्कीले हात पारे । बेस्ट बलर पनि पन्ज्युनयाँका किरण कार्की भए भने ‘बेस्ट ब्याट्सम्यान’ निराजन ट्रेडर्स गोकुलेश्वरका खेलाडी दिनेश विष्ट चुनिएका छन् । प्रतियोगिताका ‘इमर्जिङ्ग प्लेअर’ पन्ज्युनयाँका १४ वर्षीय खेलाडी सुदीप कार्की भए ।