स्पेनमाथि जित निकाल्दै फ्रान्स च्याम्पियन


लन्डन, (एजेन्सी) ।

स्पेनमाथि पुनरागमन जित हात पार्दै विश्व च्याम्पियन फ्रान्स यूईएफए नेसन्स लिग च्याम्पियन पनि बनेको छ ।फ्रान्सले स्पेनमाथि २–१ को जित निकालेको हो । फ्रान्सलाई च्याम्पियन बनाउन करिम बेन्जेमा र क्लियन एमबाप्पेले १-१ गोल गरेका थिए । यसअघि, स्पेनका मिकेल ओयरजावालले गोल गरेका थिए । तर, फ्रान्सले दुई गोल फर्काएपछि उनको गोल सान्त्वना सावित भएको थियो ।

मिलानो इटालीमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा भने तीन गोल भएका थिए । ५४औं मिनेटमा काउन्टर अट्याकमा बेन्जेमाको पासमा एमबाप्पेको प्रयासलाई मार्काेस अलन्सोले ब्लक गरेपछि फ्रान्स अग्रता लिनबाट चुक्यो । खेलको ६४औं मिनेटमा स्पेनका कप्तान सर्जियो बुस्क्वेट्सको पासमा मिकेलले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाए ।

तर, स्पेनको अग्रता एकै छिन मात्रै रह्यो । दुई मिनेटपछि ६६औं मिनेटमा बेन्जेमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले एमबाप्पेको पासमा गोल गर्न सफल भएका थिए । ८०औं मिनेटमा एमबाप्पेले थियो हर्नान्डेजको पासमा गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाए ।गत जुन–जुलाईमा सम्पन्न युरोकपमा कमजोर प्रदर्शन गरेको फ्रान्सले प्रशिक्षक डिडियर डेसच्याम्पको नेतृत्वमा दोस्रो उपाधि जित्न सफल भएको होे । यसअघि, फ्रान्सले २०१८ मा विश्वकपको उपाधि जितेको थियो ।

त्यसअघि, आइतबार राति नै भएको खेलमा बेल्जियमलाई २–१ पराजित गर्दै इटालीले तेस्रो स्थान हासिल गरेको छ । इटालीको जितमा निकोलो बरेल्ला र डोमिनिको बेरारडीले गोल गरे । बेल्जियमका चार्लेस डि केटलारेले एक गोल फर्काए ।