ठूला आयोजना निर्माणमा ध्यान दिन मन्त्री झाँक्रीको निर्देशन (फोटोफिचर)


मधुसुदन रायमाझी, काठमाडौं ।

शहरी विकास मन्त्री रामुकमारी झाँक्रीले मन्त्रालयले अब ठूला पूर्वाधार निर्माणको कामलाई ध्यान दिनुपर्ने बताउनुभएको छ । साना योजनालाई भन्दा पनि अब दिर्घकालिन रुपमा शहरी क्षेत्रको विकास गर्न ठूला पूर्वाधार निर्माणलाई प्राथमिकता दिइने बताउनुभएको हो ।

शहरी विकास तथा भवन निर्माण विभागद्धारा सोमवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले नागरिकको जीवनस्तरलाई उकास्ने गरी शहरी क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो,‘एकीकृत वस्ती निर्माण गर्दै नागरिकको दैनिक जीविकालाई पनि ध्यान दिनुपर्छ ।’निजी निवास पुर्ननिर्माणको काम आगामी मंसिरभित्र नै सम्पन्न गरी काम गर्न निर्देशन दिदै उहाँले अब विभागले पुर्ननिर्माणमै अलमलिएर बस्न नहुने बताउनुभयो । देशको अधिकांश क्षेत्र ग्रामिण वस्ती रहेको बताउदै मन्त्री झाँक्रीले शहरी क्षेत्रमा रहेको सेवा सुविधा ग्रामिण क्षेत्रमा पु-याउने नीति र कार्यक्रमको आवश्यकता रहेको बताउनुभयो ।

मन्त्रालयले शहरी क्षेत्रको दिर्घकालिन योजना तर्जुमा गर्न जरुरी छ, शहर आजको भोली नै निर्माण गर्न सम्भव छैन, तर दिर्घकालिन योजना र नीति चाही आवश्यक छ ।’ कर्मचारीहरुको योग्यता र क्षमतामा आफूलाई पूर्ण विश्वास गरहेको बताउदै टिमवर्कबाटै परिणाममूखी काम गरेर देखाउनु पर्ने खाँचा रहेकोमा जोड दिनुभयो । ‘काम कर्मचारीले गर्ने हो, काम गर्ने वातावरण सृजना गछौ, सबैले जिम्मेवारी लिएर काम गरौ, म टिमवर्कमै विश्वास गर्छु’ ,उहाँले भन्नुभयो ।

शहरी विकास मन्त्रालयका सचिव डा रमेश प्रसाद सिंहले सरकारी भवनहरु एकद्धार प्रणालीबाट निर्माण गर्नुपर्ने बताउनुभयो । सरकारी भवन एकद्धार प्रणालीबाट निर्माण हुन नसकिरहेको बताउदै उहाँले मन्त्रालयलाई नगरपालिकाहरुको सम्पर्क मन्त्रालयको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

सिंहले भन्नुभयो,‘शहरी क्षेत्रको विकास गर्नको लागि मन्त्रालयले योजनाबद्ध रुपमा विकास निर्माणको काम गरिरहेको छ ।’ शहरी क्षेत्रको विकासको लािग युटिलिटी कोरिडोरको आवश्यकता रहेको बताउदै शहरी क्षेत्रमा अब दुई लेनको सडकलाई अनिवार्य रुपमा निर्माण गर्नुपर्ने मापदण्ड तय गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयले सरकारी भवन, सडक, सभाहल स्मार्ट सिटी नयाँ शहर लगायतका योजनाहरु अगाडि बढाइरहेको जानकारी दिदै सिंहले ठूलो पूर्वाधार आयोजनालाई प्राथमिकतामा राखेर अगाडि बढने बताउनुभयो ।कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले विभागले हालसम्म गरिरहेको काम र भावी योजनाको विषयमा मन्त्री झाँक्रीलाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा शहरी विकास मन्त्रालयका सहसचिवद्धय पद्यम मैनाली, रामचन्द्र दंगाल, विभागका उपमहानिर्देशकहरु कुमार प्रसाद घिमिरे, दीलिप भण्डारी, सुरेन्द्र मोहन श्रेष्ठ, विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक दीलिपशेखर श्रेष्ठसहित शाखा प्रमुखहरुको सहभागीता रहेको थियो ।