सरकार विकास आयोजनामा गम्भीर छैन : उपमहासचिव पौडेल

364
Shares

यमलाल भुसाल, बुटवल ।

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले सरकारले विकासका काममा कैँची चलाएको आरोप लगाउनु भएको छ ्। केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएका महत्त्वपूर्ण विकास आयोजनामा अवरुद्ध गर्ने गरी देउवा नेतृत्वको गठबन्धन सरकारले कैँची चलाएको उहाँको आरोप रहेको छ ।

रुपन्देही उद्योग सङ्घको ४३ औँ साधारण सभामा शनिवार बुटवलमा बोल्दै उपमहासचिव पौडेलले केपी ओली नेतृत्वको सरकारले ल्याएका महत्त्वपूर्ण विकास आयोजनाहरू कटौती गर्ने र विगतदेखि नै सञ्चालनमा रहेका आयोजनाहरूमा पनि वर्तमान सरकारले बजेट कटौती गरेको दाबी गर्नु भयो ।
गौतम बुद्ध विमानस्थल, सिद्ध बाबा सुरुङ मार्ग, तिनाउ दानव कोरिडोर, मोतीपुर औद्योगिक क्षेत्र लगायत रुपन्देहीका महत्त्वपूर्ण विकास आयोजनामा वर्तमान सरकारको कुनै चासो र सरोकार नै नदेखाएको पौडेलले आरोप लगाउनु भयो ।

उहाँले सिद्ध बाबामा सुरुङ मार्ग निर्माणको लागि आफ्नो पहलमा टेन्डर आव्हान भइसकेको उल्लेख गर्दै योग्य र सक्षम कम्पनी छनोट गरेर सुरुङ मार्ग निर्माणको काम पनि अगाडी बढाउन आग्रह गर्नु भयो । लामो प्रयासपछि बुटवलको मोतीपुरमा औद्योगिक क्षेत्र बिस्तारको लागि जग्गाप्राप्ती गरि शिलान्यास समेत भइसकेको अवस्थामा अहिले सोही जग्गा अतिक्रमण हुँदा समेत सरकार मूकदर्शक बनेको गुनासो गर्नु भयो ।

मोतीपुरमा जुन उद्देश्यले औद्योगिक क्षेत्रको विकास गर्न खोजिएको थियो त्यसतर्फ हेलचेक्र्याइँ नगर्न उहाँले आह्वान गर्नु भयो । फरक प्रसङ्गमा प्रतिनिधिसभा सदस्य समेत रहेका नेता पौडेलले बुटवलको ज्योति नगर पहिरोलाई दीर्घकालीन समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।

यस्तै गौतम बुद्ध अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थल, सिद्ध बाबा सुरुङ मार्ग तथा झुम्साखोला खानेपानी आयोजना लगाएतका विकास निर्माणका कामलाई तीव्रताका साथ अघि बढाउन उहाँले जोड दिनु भयो ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका पूर्व उद्योगमन्त्री लिला गिरिले एमाले सरकारमा रहंदा वा बाहिर रहंदापनि आफूहरू उद्योगी व्यवसायीको पक्षमा रहेको बताउनु भयो ।