विकास निर्माण र कला संरक्षणमा उपभोक्ता पनि जिम्मेवार हुनुपर्छ : ऊर्जा मन्त्री भुसाल

196
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकास निर्माण र कला संरक्षणमा नीति निर्माता मात्र नभई उपभोक्ताहरू पनि जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । सामुदायिक विकास कोष समितिको सचिवालय ललितपुर मनपा–२२ ले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले आफ्ना संस्कृति, पर्व एवं विकास निर्माण कार्यलाई उपभोक्तास्तरबाट पनि निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।

आफू निरन्तर देशको विकास र जनताको सेवामा लाग्ने विश्वास दिलाउँदै मन्त्री भुसालले भन्नुभयो, “मैले मेरो तहबाट बजेट तथा योजनाका लागि पहल गर्छु । तपाईँ उपभोक्ताहरूले हरेक गतिविधिको नियमन गर्नुपर्छ ।” आफूले पहल गरेर ल्याएको योजना कार्यान्वयनमा ढिलाइ भएकाले जनस्तरबाटै खबरदारी आवश्यकता औँल्याउँदै उहाँले भन्नभयो, “बुङ्मतिको मुख्य बाटोमा रु २५ करोडसम्म बजेट विनियोजन भयो तर पूरा भएको छैन ।”

विसं २०७२ सालमा भत्किएको रातो मच्छिन्द्रनाथको काम ढिलो भएको र उपभोक्ताकै कारण निर्माण कार्य अगाडि बढेको उल्लेख गर्दै स्थानीय उपभोक्ता नै आफ्नो क्षेत्रको संस्कृति संरक्षण र विकास निर्माणमा जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । आफ्ना आवश्यकता पहिचान गरेर ल्याउन आग्रह गर्दै मन्त्री भुसालले जनताका आवश्यकता पूरा गर्न आफू निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विभिन्न कालखण्डमा सुरु भएका चाडपर्वका एतिहासिक एवं सामाजिक महत्त्व रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “चाडपर्वका सांस्कृतिक एवं सांस्कृतिक पाटाहरू अत्यन्त राम्रा छन् । यसर्थ चाडपर्वलाई निरन्तरता दिने र समयअनुसार परिमार्जन गर्ने नै आजको आवश्यकता हो ।”

देशको भूगोल र जनता मात्र नभई त्यस देशको सांस्कृतिक पहिचान र सामाजिक मूल्य मान्यता, कला, जनताका जीवन व्यवहार महत्त्वपूर्ण हुने उल्लेख गर्दै मन्त्री भुसालले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई एकताबद्ध गर्ने, सम्बन्धलाई सुदृढ गर्ने गर्ने महत्त्वपूर्ण चाडबाडका सबैको आ–आफ्नै महत्त्व भएको बताउनुभयो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि एवं सामाजिक व्यक्तिहरूले आसन्न राष्ट्रिय चाडहरू विजया दशमी, तिहार, नेपाल सम्बत र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो । त्यसैगरी ऊर्जा मन्त्री भुसालले आजै ललितपुर महानगरपालिका वडा नं १० स्थित वाराही टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभाको उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले विकास निर्माणलाई व्यवस्थित गर्न सबै नेपाली दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।