मुलुकमा सबल सुरक्षा नीति आवश्यक : मन्त्री डा रिजाल

490
Shares

काठमाडौँ । नवनियुक्त रक्षामन्त्री डा मीनेन्द्रप्रसाद रिजालले मुलुकका लागि सबल सुरक्षा नीति आवश्यक भएको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा कुनै एक दलको मात्रै नभइ सबैको साझा विषय भएकाले त्यसलाई सबै मिलेर एकताबद्ध रुपमा अघि बढाउनुपर्नेमा उहाँको जोड थियो । सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै रक्षामन्त्री डा रिजालले भन्नुभयो, “अहिले परराष्ट्रसम्बन्धको विषयमा जुन कुरा उठिरहेको छ त्यसले पनि सबल सुरक्षा नीति आवश्यक रहेको देखिएको छ, त्यसमा मेरो ध्यान जान्छ ।”

राष्ट्रपति विद्यादेवी भण्डारी रक्षामन्त्री हुँदा नै मन्त्रीस्तरीय समितिले राष्ट्रिय सुरक्षा नीति अघि बढाएको सन्दर्भ जोड्नुहुँदै मन्त्री डा रिजालले त्यसलाई पछि आएर विभिन्न चरणमा अघि बढाउने काम भइरहेको उल्लेख गर्नुभयो । मन्त्री रिजालले नेपालको सुरक्षा संवेदनशिलता र मित्रराष्ट्रसँगको सम्बन्ध पहिलेभन्दा बढी अवसरको रुपमा विकास भइरहेको र त्यससँगै चुनौती पनि बढ्दै गएको सन्दर्भमा आफ्नो भूमिका थप प्रभावकारी बनाउने विश्वास दिलाउनुभयो ।

उहाँले नेपालबाट शान्ति मिसनमा ठूलो सङ्ख्यामा सेना जाने गरिएको र त्यहाँ नेपालको भूमिकालाई अझ विस्तारित गर्ने विषयलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । मन्त्री डा रिजाल यसअघि संस्कृति र सञ्चार तथा सूचना प्रविधिमन्त्री हुनुभएको थियो । सुनसरीमा जन्मनुभएका उहाँ मोरङ क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य उहाँ नेपाल विद्यार्थी सङ्घको केन्द्रीय उपाध्यक्ष हुँदै राजनीतिमा आउनुभएको थियो । उहाँले संविधान मस्यौदा समितिको सदस्य बनेर जिम्मेवारी निर्वाह गर्नुभयो । हाल उहाँ संसद्को सार्वजनिक लेखा समितिका सदस्य पनि हुनुहुन्छ । उहाँले अमेरिकाको न्यूयोर्क विश्वविद्यालयबाट व्यवस्थापन विषयमा विद्यावारिधि गर्नुभएको हो ।