बागमती प्रदेशमा नेपालकै पहिलो ‘एग्रिगेटर सूचना बैंक’ स्थापना

854
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

करिब २ वर्षको गृहकार्यपछि सञ्चार रजिष्ट्रार कार्यालयले बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने एग्रिगेटरका रुपमा सूचना बैंक सञ्चालनमा ल्याएको छ । नेपालमा पहिलोपटक सूचना बैंक बनेको हो । सुशासन र पारदर्शिताका लागि सूचना महत्वपूर्ण हुनेछ ।

प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्थाबमोजिम बागमती प्रदेशका ७ मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभासहित १४ कार्यालयको सूचना एउटै पोर्टलबाट पाउनसक्ने बनाइएको हो । शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्री अजयक्रान्ति शाक्यले सूचना बैंक उद्घाटन गर्नुभएको थियो ।

बागमती प्रदेशका सबै कार्यालय र स्थानीय तहलाई सूचना बैंकमा लिंक गर्दा बागमती प्रदेशको सूचना बैंकले पूर्णता पाउनेछ । यसरी नै बाँकी ६ प्रदेशले पनि आआफ्ना प्रदेशको सूचना बैंक बनाइदिए संघीय सरकारले ७ वटै प्रदेशका सूचना बैंकलाई लिंक गरी नेपालको सूचना बैक बनाउन सकिने जनाइएको छ ।

सूचनाका उपभोक्ताले सूचना प्राप्त गर्न सम्बन्धित कार्यालयको वेबसाइट सर्च गर्नुपर्दैन, सूचना बैंकको पोर्टलमा जाँदा १४ वटै कार्यालयका वेबसाइटमा राखिएका सूचना पाउनसक्ने गरी बनाइएको छ । हाल समेटिएका १४ कार्यालयका सूचना वा दस्ताबेजहरु सूचना बैंकको पोर्टलबाट डाउनलोड गर्नसमेत सकिने रजिष्ट्रार रेवती सापकोटाले बताउनुभयो ।

नेपालको संविधानले प्रत्याभूत गरेको विचार र अभिव्यक्ति स्वतन्त्रता, सञ्चार एवम् सूचनाको हक संरक्षण र सम्वद्र्धन गर्दै प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ को दफा ५५ बमोजिम सूचना बैंक बनेको सापकोटाले बताउनुभयो ।

प्रदेश सूचनाको हक सम्बन्धि ऐन, २०७६ को दफा ३, ४ र ५ बमोजिम प्रदेश सरकारले सरकारी तथा सार्वजनिक निकायबाट प्रकाशित नागरिकसँग सरोकार राख्ने र सार्वजनिक महत्वका सूचनाहरु संकलन, भण्डारण र बितरण गर्न सूचना बैंक उपयोगी हुने भएकाले उहाँको विश्वास छ ।