जन्मदिनमा पहिरो पिडीतलाई पत्रकारको घर ‘उपहार’


दुर्गाप्रसाद शर्मा, हुवास पर्वत ।

गाउँभन्दा तल गएको पहिरोका कारण उच्च जोखिममा रहेको दलित बस्तीका पिडीत परिवारलाई एक जना पत्रकारले घर बनाएर आफ्नो जन्मदिनमा उपहारको रुपमा हस्तान्तरण गर्नुभएको छ ।

पर्वत जिल्लाको पैंयु गाउँपालिका वडा नं ५ भुर्तेलथोक आरुगैह्राको जोखिमयुक्त दलित बस्ती स्थानान्तरण गर्ने अभियानका क्रममा पिडीत परिवारलाई घर हस्तान्तरण गरिएको हो ।जिल्ला विपत् व्यवस्थापन समिति पर्वतले उच्च जोखिममा राखेर बस्ती स्थानान्तरण गर्न सिफारिस गरेको भए पनि त्यसमा कसैको ध्यान पुग्न नसक्दा सोही स्थानमा घर भएका २७ वर्षीय पत्रकार निर्भिकनारायण भुर्तेलको नेतृत्वमा बस्ती स्थानान्तरणको अभियान शुरु भएको छ । ‘द निर्भिक फाउन्डेसन’ नामक संस्थाको माध्यबाट भुर्तेलथोकको आरुगैह्रमा रहेको बस्ती स्थानान्तरणको अभियान अन्र्तगत पहिलो चरणम ४ घर उच्च जोखिममा रहेका परिवारलाई हस्तान्तरण गरिएको छ ।

पत्रकार भुर्तेलको जन्मदिनको अवसर पारेर राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घरको साँचो हस्तान्तरण गर्नुभयो । पर्वत वेलफेर सोसाईटी युकेले एउटा घर बनाई दिएको छ भने अन्य संस्था र निकायको सहयोगमा पहिलो चरणमा चार वटा घर तयार भएका छन । पहिरोबाट १५ घर उच्च जोखिममा छन ।पत्रकार भुर्तेलले आफ्नो घरबारी निशुल्क उपलब्ध गराएर सबैका घर बनाउने अभियान शुरु गर्नुभएको छ । सबै पिडीतलाई अर्को बर्ष सम्ममा घर स्थानान्तरण गरिसक्ने योजना बनाएको पत्रकार भुर्तेलले बताउनुभयो ।

१५ घर बस्ती स्थानान्तरणका लागि लागि पटक–पटक सिफारिस गर्दा पनि कसैको ध्यानाकर्षण हुन नसकेपछि बस्तीमा हुन सक्ने ठूलो क्षति टार्न अभियान थालनी गर्न बाध्य भएको उहाँको भनाई छ । ‘पहिरोले घर भत्कने क्रम चलेपनि कतैबाट काम हुन नसकेका कारण आफ्नै जग्गामा बस्ती स्थानान्तरण गर्न लागेको हुँ’, भुर्तेल भन्नुहुन्छ– ‘उक्त अर्को बर्ष सम्म सरकार र सहयोगी निकायको सहयोगमा सबैलाई सुरक्षित बस्तीमा सार्न सक्छु भन्ने बिश्वास छ ।’
घरको साँचो हस्तान्तरण गर्दै अध्यक्ष तिमिल्सिनाले सबैलाई सचेत बनाउने पत्रकारले आफ्नै नेतृत्वमा बस्ती स्थानान्तरणको अभियान चलाउनु आफैमा सुखद काम भएको बताउनुभयो ।

उहाँले सबै पिडीतका घर बनाउन भुर्तेलको अभियानलाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै सबैलाई सहयोगी हात अघि बढाउन आग्रह पनि गर्नुभयो । ‘पहिरोको उच्च जोखिममा रहेको बस्ती स्थानान्तरणको काम राज्यले नै गर्नुपर्छ।’ उहाँले भन्नुभयो ‘राज्यलाई सहयोग गर्न एक जना पत्रकारले थालेको अभियानलाई सबैले सहयोग गरेर पिडीतलाई ढुक्कले निदाउने वातावरण बनाउन जरुरी छ ।’

सुरक्षित स्थानमा घर बनेपछि पिडीतहरु उत्साहित बनेका छन । पहिरोले घर भत्काउँदा ५ बर्षिय छोरा घाइते भएको घटना सम्झदै ख्याम दर्जीले अब परिवार ढुक्कले निदाउने अबस्था आएको बताउनुहुन्छ । अर्का पिडीत डम्बरबहादुर दर्जीले घर बनेपनि गोठ बनाउने र सिलाईकटाई गर्नका लागि मेसिन राख्ने ठाउँको अभाब हुन्छ कि भन्ने चिन्तामा हुनुहुन्छ । ‘घर पाउँदा औधी खुसी लागेको छ ।’ उहाँले भन्नुभयो ‘अब भैसी, बाख्रा पाल्ने गोठ र पेश गर्ने ठाउँ पनि भैदिए अझै सजिलो हुनेथियो ।