न्यायालयका बेथितिविरुद्ध बार र बेन्च एकजुट हुनुपर्नेमा जोड

1.6k
Shares

न्युज अफ नेपाल,ललितपुर ।

न्यायालयमा देखा परेका खराबीलाई सुधार गर्दै जनआस्था बढाउन बार र बेन्चबिच सहकार्य गरी अघि बढ्नुको विकल्प नरहेको सम्बद्ध व्यक्तिहरूले बताएका छन् । विजया दशमी, शुभ दिपावली, नेपाल संवत् ११४२ नयाँ वर्ष र छठ पर्वको अवसरमा ललितपुर बार एसोसिएसनले लगनखेलस्थित बार हलमा बुधवार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका वक्ताहरूले सो कुरा बताएका हुन् ।

सो अवसरमा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकामा कहीँ कतैबाट समस्या आउन नदिन, जनआस्था वृद्धि गर्न, कामकारबाहीलाई पारदर्शी र विश्वसनीय बनाउन बार र बेन्चबिच सार्थक संवाद र समन्वयको विकल्प नभएको धारणा राख्नुभयो । वरिष्ठ अधिवक्ता समेत रहनुभएका अध्यक्ष श्रेष्ठले सर्वोच्च अदालतमा उच्चस्तरीय बेन्च बार समिति गठन गरिएको उल्लेख गर्दै न्यायलाई सर्वसुलभ बनाउन, ढिलासुस्ती हटाउन र न्यायालयमा देखापरका खराबी हटाउन सो समिति क्रियाशील रहेको बताउनुभयो।

ललितपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश किरणप्रसाद शिवाकोटीले बार र बेन्च मिलेर अघि बढ्नुपर्ने बताउँदै दशैं सकिएसंगै बार र बेन्चको बैठक राख्ने सोचमा रहेको बताउनुभयो । ‘न्याय निरूपण गर्न दुवै मिलेर अघि बढ्नुपर्दछ ।’ उहाँले भन्नुभयो । ललितपुर बार एसोसिएसनका अध्यक्ष अर्जुन महर्जनले कानुन व्यवसायीहरूको पेसागत मर्यादा न्यायालयप्रतिको जनआस्थासँग जोडिएकोले न्याय सम्पादनको कामलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष महर्जनले भन्नुभयो  ‘ न्याय सम्पादनमा बार र बेन्चको सम्बन्ध परिपूरक रहेको छ ।न्यायालयप्रतिको जनआस्थामै कानुन व्यवसायीहरूको पेसागत सम्मान अडिएको छ ।न्याय सम्पादनसङै न्याय प्रशासनको कामकारबाहीलाई छिटो छरितो र यसप्रति विश्वसनीय कायम गरिराख्न बार र बेन्च छलफल गर्दै अघि बढ्नुपर्दछ ।दुवै मिलेर नै न्यायालयमा देखा परेका समस्या हल गर्दै जाने हो ।’

कानुन व्यवसायीको पेसागत मर्यादा जोगाउन, आचारसंहिता पालना गर्नतर्फ बार सचेत रहेको पनि अध्यक्ष महर्जनको भनाई रहेको छ ।

सो अवसरमा ललितपुर बार एसोसिएसनका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता रमेशकुमार मैनाली, नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य खिमानन्द अधिकारी,  जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधीवक्ता शान्ति अधिकारी, ललितपुर बार एसोसिएसनका उपाध्यक्ष सुशील पोखरेल, सचिव कृष्णप्रसाद सुवेदीले न्यायालयको कामरवाहीमा एकरुपता, अदालती कामकारबाही बारे आएका नयाँ नयाँ ऐन र कार्यविधिबारे बुझाइमा स्पष्टता, छिटोछरितो न्यायको लागि बार र बेन्चबिच अन्तरक्रिया गर्दै जानुपर्नेमा केन्द्रित गर्दै आ आफ्नो भनाई राख्नुभयो ।

बारद्वारा न्यायाधीशहरुलाई स्वागत

सो अवसरमा जिल्ला अदालत ललितपुरमा भर्खरै सरुवा भई आउनुहुने न्यायाधीशहरुलाई स्वागत गरिएको थियो । प्रमुख न्यायाशीश किरणप्रसाद शिवाकोटी, न्यायाधीश ऋषिराम निरौला,कृष्णराम कोईराला, शिवबहादुर रानाभाट, सुर्यप्रसाद पराजुली, देवकुमार गिरी, रामप्रसाद बस्याल, श्रेस्तदार विष्णुप्रसाद पाण्डे, तहसिलदार युवराज पौडेललाई कोखा र सगुण दिएर स्वागत गरिएको थियो ।