इलामबाट ८० लाख भन्दा बढी मूल्य बराबरको औषधि बरामद



भद्रपुर ।

स्थानीय प्रहरीको मिलेमतोमा तस्करीको माध्यमबाट नेपाल भित्रिएको ठुलो परिमाणको औषधि बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रदेश १ बाहिनी मुख्यालय सुनसरीबाट खटिएको विशेष टोलीले इलाम जिल्ला सूर्योदय नगरपालिका– २ स्थित लालिखर्क भन्ने स्थानबाट २८ पोका औषधि बरामद गरेको हो ।

भारतबाट तस्करीको माध्यमबाट औषधि भित्रिएको गोप्य सूचनाको आधारमा बाहिनी मुख्यालयबाट खटिएको विशेष टोलीले सोमबार राती १० बजे स्थानीय काजी गोलेको ग्वाली घरमा लुकाई छिपाई राखेको सो परिमाणको औषधि बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल प्रदेश १ बाहिनी मुख्यालयका डिआइजी कमल गिरीले जानकारी दिनुभयो ।बरामद गरिएको १५ प्रकारका औषधिलाई करिब ४० लाख ४१ हजार ३५८ रुपैयाँ मुल्याकंन तोकेर मङ्गलबार पशुपतिनगर भन्सार कार्यालय बुझाइसकेको डिआइजी गिरीले बताउँनुभयो ।

औषधिको बजार मूल्य करिब ८० लाख ८४ हजार रुपैयाँ बढीको थियो । भन्सारले तोकिएको मूल्य भन्दा आधा मूल्य सो औषधि बुझेको बताइएको छ । भन्सारले बुझेको औषधि थप कारबाहीका लागि औषधि विभाग पठाउने जनाइएको छ ।बरामद गरिएका औषधि नेपालमा प्रतिबन्धित नभए पनि तस्करी माध्यमबाट नेपाली बजारमा भित्राउने तस्कर समूहको योजना थियो । तस्कर समूहले इलामको हिले नाकाबाट सो औषधिहरू भित्राएको हो । त्यसपछि बौद्ध धाम, फिक्कल हुँदै झापाका बजारसम्म ल्याउन त्यहाँ लगेर भण्डारण गरेको बुझिएको छ ।सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट पशुपतिनगर र हिले हुँदाहुँदै डिआइजी गिरीले विशेष टोली पठाएर हिलै नजिकैबाट सामान बरामद भएपछि स्थानीय प्रहरीको मिलेमतो रहेको घटनाले पुष्टि गर्छ ।

पशुपतिनगर र हिले तस्करीको ट्रान्जिट पोइन्ट बन्दै गएको छ । विओपी पशुपतिनगरका इन्चार्ज इन्स्पेक्टर नवीन खतिवडा हुन् । यता बरामद गरिएको औषधिहरू दाद रोग, बाथ रोग, युनिटी पावर बढाउने खालका हुन् । सो औषधि स्थानीय कारोबारी चाँदनी भन्नेले भित्राएको स्थानीय स्रोतको दाबी छ ।सशस्त्र प्रहरी विओपी पशुपतिनगर, हिले, फिक्कल र इलाका प्रहरी कार्यालय पशुपतिनगर हुँदाहुँदै सो नाकाबाट ठुलो परिमाणमा तस्करी हुँदै आइरहेको छ । केही दिनअघि हिले नाकाबाट ठुलो परिमाणको लत्ताकपडा सशस्त्र र नेपाल प्रहरीको मिलेमतोमा भित्रिएको थियो ।

प्रतिक्रिया दिनुहोस्