अमर प्रहरीका परिवारलाई सम्मान


दमौली ।

प्रहरी दिवसका अवसरमा तनहुँमा अमर प्रहरीका परिवारलाई सम्मान गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले आज आयोजना गरेको कार्यक्रममा कर्तव्य पालनका क्रममा दिवङ्गत भएका अमर प्रहरीका परिवारलाई सम्मान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल र प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सम्मान कार्यक्रममा सहभागी अमर प्रहरीका परिवार भावुक बनेका थिए । सोक्रममा १८ जना अमर प्रहरीका परिवारलाई सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा उत्कृष्ट कार्य गर्ने प्रहरीहरुलाई प्रहरी उपरीक्षक मैनालीले नगद पुरस्कारले पुरस्कृत गर्नुभयो । प्रहरी दिवसकै अवसरमा आयोजित व्याडमिन्टन प्रतियोगिताका विजेतालाई पनि पुरस्कृत गरिएको छ । ए लेभलतर्फ प्रथम हुन सफल प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिना र प्रहरी जवान धनबहादुर गुरुङ, द्वितीय हुन सफल विक्रम रेउले र लालबहादुर थापालाई सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले पुरस्कार प्रदान गर्नुभयो ।

बि लेभलतर्फ प्रथम हुन सफल भिमनाथ गौतम र टुकबहादुर चौधरी तथा द्वितीय हुन सफल रामशरण राना र चन्दसिं बस्नेतलाई कालीभञ्जन गण इ का प्रमुख सेनानी मनोज गुरुङले पुरस्कार प्रदान गर्नुभयो ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले शान्तिसुरक्षा कायम र अपराध नियन्त्रणमा प्रहरीको भूमिका उच्च रहँदै आएको बताउनुभयो ।

उहाँले समुदाय र प्रहरीको सहकार्यले मात्रै विकृति, विसङ्गति अन्त्य गर्न सकिने बताउनुभयो । सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दुर्गाभक्त अधिकारीले प्रहरीका हरेक काममा समुदायको सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।