जनताका लागि सहज र गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन

राज्यमन्त्री श्रेष्ठले गरे भक्तपुरका तीन अस्पतालको निरीक्षण


पुष्कर बुढाथोकी, भक्तपुर ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रको निरीक्षण एवं अवलोकन गर्नुभएको छ ।

सो क्रममा राज्यमन्त्री श्रेष्ठले भक्तपुरका तीन सरकारी अस्पतालले प्रवाह गरेको सेवाका बारेमा जानकारी लिँदै अस्पतालहरुलाई जनताका लागि सहज र गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।सरकारी अस्पतालको अवस्था, सेवा प्रवाह कस्तो रहेको छ र के कस्ता समस्याहरु छन् भन्ने जानकारी लिन साताव्यापी अस्पताल निरीक्षणको अभियान सुरु गरेको उल्लेख गर्दै राज्मन्त्री श्रेष्ठले अस्पतालको अवस्था जानकारी लिएपछि मात्रै योजना बनाउन र कार्यान्वयनमा सहज हुने बताउनुभयो ।

गाउँगाउँको अस्पतालमा जाने आफ्नो योजना रहेको भन्दै उहाँले स्वास्थ्यको क्षेत्रमा केही गरौँ भनेर सरकारी अस्पतालको अवस्था हेर्ने अभियान सुरु गरेको बताउनुभयो ।अस्पताललाई दिनुपर्ने बिमाको पैसा अब सरकारले नरोक्ने बताउँदै राज्यमन्त्री श्रेष्ठले दसैँअगाडि नै सबै सरकारी अस्पतालमा बीमा बापतको बाँकी रकम हामी पठाउने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर अस्पतालका मेसु डा सुमित्रा गौतम,क्यान्सर अस्पतालका निर्देशक डा विष्णु पौडेल र शहीद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले सम्बन्धित अस्पतालले दिँदै आएको सेवा, समग्र अवस्था ,संभावना र समस्याका बारेमा राज्यमन्त्री श्रेष्ठलाई जानकारी गराउनुभयो ।

अस्पताल निरीक्षणका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण सिंह ,प्रमुख विशेषज्ञ सल्लाहकार महेश्वर श्रेष्ठ ,नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा लगायतको सहभागिता रहेको थियो ।