थापासँगको सम्झौता भोलिपल्ट रद्द



हेटौंडा, (नेस) ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रतिबन्धित पूर्वअध्यक्ष गणेश थापासँग गरिएको सम्झौता हेटौंडा उपमहानगरपालिकाले भोलिपल्ट रद्द गरेको छ । उपमहानगरपालिकाले थापासम्बद्ध नेपाल स्पोर्टस् अर्गनाइजेसनसँग २५ लाख रुपियाँको सम्झौता गरेको थियो । यस विषयमा शुक्रबारको अंकमा नेपाल समाचारपत्रले समाचार प्रकाशन गरेको थियो ।

सम्झौताका विषयमा उपमहानगरपालिका विवादमा मुछिएसँगै उपमहानगरले सम्झौता रद्द गरेको हो । ‘हामीले खेलाडी उत्पादन गर्ने भनेका कारण बजेट विनियोजन गरेका थियौं । तर, उहाँ प्रतिबन्धित हुनुहुन्छ भन्ने थाहा थिएन ।,’ हेटौंडाका मेयर हरिबहादुर महतले आकस्मिक बैठक बसेर सम्झौता रद्द गरिएको जानकारी दिए ।

विश्व फुटबलको सर्वोच्च संस्था फिफाबाट आर्थिक अनियमितताको आरोपमा प्रतिबन्धित थापासँग हेटौंडा उपमहानगरपालिकाले फुटबल विकासका लागि भन्दै २५ लाख रुपैयाँको सम्झौता गरेको थियो । थापासम्बद्ध नेपाल स्पोर्टस् अर्गनाइजेसनसँग उपमहानगरपालिकाले कार्यक्रम सञ्चालनबारे सम्झौता गरेको हो ।

उपमहानगरपालिकाले थापाको अर्गनाइजेसनसँग फुटबल विकाससम्बन्धी कार्यका लागि सम्झौता गरेको थियो । मकवानपुर जिल्लामा फुटबल एकेडेमी सञ्चालनका निमित्त उपमहानगरपालिका र अर्गनाइजेसनबीच सम्झौता भएको थापाले जानकारी गराएका थिए । उनले यसबारे स्थानीय निकायका पदाधिकारीसँग छलफल शुरू गरिसकेको र पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे विस्तृत जानकारी दिइने बताएका थिए ।

थापासँग स्थानीय सरकारले एकेडेमी सञ्चालनका लागि सम्झौता गरेको भन्दै उपमहानगरको कार्यप्रति प्रश्न उठेको थियो । थापाले ल्याएको प्रस्तावमा नगर कार्यपालिका बैठकमा सामान्य छलफल भए पनि पछि जिल्ला फुटबल र नगर फुटबल कार्यसमितिबीच छलफल भएको थियो । तर, कार्यपालिकामा भने पास भएको थिएन ।

बोलपत्रमार्फत टेन्डर प्रक्रियाबाट टुंग्याइने भनिए पनि उक्त विषयमा कार्यपालिका बैठकमा छलफल नभएको कार्यपालिकाका एक सदस्यले बताएका छन् । प्रस्तावलाई बैठकमा लगेर पास गरिनुपर्ने प्रक्रिया हो । तर, आर्थिक अनियमितताको आरोपमा दोषी ठह¥याइएका थापासँग बिनाटेन्डर सम्झौता गरिनुले उपमहानगरको कार्यप्रति प्रश्न खडा भएको कार्यपालिका सदस्य बताउँछन् ।

थापाले उपमहानगरपालिकासँग सम्झौता रद्द भएको विषयमा प्रतिक्रिया दिन चाहेनन् । उनले भने–‘केही दिनमा पत्रकार सम्मेलन गरे सबै बताउँछु । ‘म फुटबल गतिविधि १० वर्षसम्म सञ्चालन गर्न नपाउने गरी प्रतिबन्धित छु । तर, उपमहानगरपालिकासँगको सम्झौताबारे पत्रकार सम्मेलनमा नै बताउनेछु,’ उनले भने । विश्व फुटबल महासंघ (फिफा) ले २०७२ कात्तिक ३० गते थापामाथि लगाएको प्रतिबन्ध करिब चार वर्ष बाँकी छ ।

खेल मिलेमतो, आन्तरिक विवाद र लगातार कमजोर नतिजाका कारण नेपाली फुटबलको छवि धमिलिएका बेला फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) पूर्वअध्यक्ष थापालाई भ्रष्टाचार अभियोगमा दशवर्षे प्रतिबन्ध लगाएको थियो ।

फिफाले चार वर्षको अनुसन्धानपछि एसियाली फुटबल महासंघ (एएफसी) का पूर्वउपाध्यक्षसमेत रहेका एन्फा अध्यक्ष थापामाथि यस्तो प्रतिबन्ध लगाएको थियो । २०५२ सालदेखि निरन्तर एन्फा अध्यक्षका रूपमा नेपाली फुटबललाई नेतृत्व गरेका थापा फिफाबाट आफूमाथि अनुसन्धान भइरहेको अवस्थामा पदबाट अलगिएका थिए ।

फिफाको इथिक्स कमिटीले सन् २००९ र २०११ मा भएको फिफा कार्यसमिति निर्वाचनमा एसियाली प्रतिनिधि छान्ने क्रममा थापाले ठूलो रकम घुसका रूपमा लिएको बताएको छ । इथिक्स कमिटीको न्यायिक विभागले थापामाथि प्रतिबन्धका साथै १९ हजार ८ सय ५० अमेरिकी डलर जरिवानाको पनि निर्णय गरेको थियो ।

राप्रपाका पूर्वसभासद् थापाले त्यसपछि खेलसंस्था गठन गरेका थिए । उनी नेपाल स्पोर्टस् अर्गनाइजेसनमार्फत् खेलकुद संस्थामा सक्रिय छन् । इन्डिभिजुअलरूपमा खेलाडी सहभागी हुने खेलहरू प्रशिक्षण तथा आयोजना गरी नेपालमा प्रतिभावान् खेलाडी उत्पादनमा संस्थाले सघाउने उनले विज्ञप्तिमार्फत् जनाएका थिए । उनले लामो समयदेखि समर्पित खेलाडी तथा अफिसियललाई संस्थाले प्रोत्साहन र सम्मान गर्ने बताएका छन् ।

सन् २००१ देखि २०१२ सम्म नेपालका सञ्चालित ‘गोल प्रोजेक्ट’ बाट तत्कालीन विनिमय दरअनुसार करिब १७ करोड ४८ लाख रुपियाँ खर्च भएको थियो । सबैजसो बजेट एन्फा अध्यक्ष थापा र उनीनिकट पदाधिकारीको मिलेमतोमा खर्च भएको देखिएको आरोप छ ।

राष्ट्रिय खेलकुद परिषद् ९राखेप० बाट प्राप्त कागजात अध्ययन गर्दा करिब १० वर्षयताका सम्बन्धित बोर्ड बैठक, लेखापरीक्षणलगायतमा ‘गोल प्रोजेक्ट’ बारे उल्लेख छैन ।

प्रतिक्रिया दिनुहोस्