एमाले पार्टीमा व्यक्तिवादी केपी प्रवृत्ति



  • सुशान्त डंगोल

एक्काइसौं शताब्दी आधुनिक युगको समय हो । ढुंगेयुगको जस्तो परम्परागत, रुढिवादी सोच–विचार र व्यक्तिको आफ्नो भनाइलाई प्रश्रय दिएर सृजित संगठन आजको आवश्यकता होइन । वस्तुवादी, यथार्थ वैज्ञानिक दृष्टिकोणबाट उपयुक्त धार वा विचार दिन सक्ने संगठन आजको आवश्यकता हो ।

कुनै पनि देश समृद्ध हुनको लागि त्यस देशका जनता शिक्षित, मेहनती, इमानदार, लगनशील हुन जरुरी हुन्छ । मुलुकको नीति–नियम पालना गराउन हरेक देशका समुदायमा संगठितरुपमा संघ–संगठन विकास भएको पाउँछौँ । वि.सं. १८२२ आश्विन १३ मा कीर्तिपुर आक्रमण गरी विजय प्राप्त गरेपछि मात्रै नभएर पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजयपश्चात् पनि गुठी प्रथालाई कायम गरी नै राखेको पाइन्छ । गुठी पनि एक प्रकारको प्राचीन संगठनकै रुपमा चलेको पाउछौँ । विकास योजना गुठी जस्तै– ताचा गुठी (काथ वा बासलाई खोला वा नाली, राजकुलो वारि–पारि किला गाडी त्यसमाथि खोला वा ढल वारपार गर्न सकिने पुल बनाइराख्ने गुथि) जसले विकास योजनाको काम गर्छ ।

फले गुठी, देग गुठीजस्ता थुप्रै गुठीहरु थिए । पछि राणाहरुको निशानामा गुठीहरु परेको देखिन्छ । उदाहरणको रुपमा सांस्कृतिक, धार्मिक भजन गुठीहरुको सफुहरुमा राजाहरुको जयजयकार गराइरहेको अभिलेखहरु यत्रतत्र पाइन्छ । त्यस्तै वि.सं. २००२ मा राजा त्रिभुवनको पालामा स्वयम्भूबाट भिक्षुहरुलाई देश निकाला गरेको र पछि ती भिक्षुहरु भारतको बेतिया भन्ने ठाउँमा बस्न गएको अनि गुठीको विकल्पको रुपमा अहिलेको आधुनिक संगठन पार्टी विकास भएको देखिन्छ ।

राणाहरुको थुप्रै अन्याय, अत्याचारमा उपत्यकावासीले देश छाडे, कोहीले बसाइँ सराइ गरे त कोही देश निकाला भए । यस्ता दमनबाट आमजनसमुदायलाई छुट्कारा दिलाउन देशमा विद्रोह गर्दा गंगलाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीजस्ताको क्रूर अमानवीयताका साथ हत्या गरियो । यस्तो क्रूरता र बरर्बरताको पराकाष्ठाले सीमा नाघ्दै गर्दा जहानिया राणा शासनको अन्त्य गर्न बीपी कोइरालाको नेतृत्वमा वि.सं. २००३ मा देशमा प्रजातान्त्रिक व्यवस्था कायम गर्न कांग्रेस पार्टीको स्थापना भयो । यसपश्चात् पुष्पलाल श्रेष्ठको नेतृत्वमा वि.सं. २००६ वैशाख १० गते ‘नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यकता अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऊँ’ भन्दै पर्चा छापी नेपाल कम्युनिस्ट पार्टी स्थापना भयो ।

त्यतिखेरको कम्युनिस्ट पार्टीको गठन देशमा सुशासन, अमनचयन, विकास र समृद्धि ल्याउनका लागि भएको थियो । कमरेड पुष्पलालको यही उद्देश्य थियो । यही अनुसार आम जनसमुदायलाई संगठित गरी पार्टी अगाडि बढिरहेको थियो । तर २४० बर्से राजा शासन होस् वा जहानिया राणा शासन अथवा पञ्चायती शासनको अन्त्य गरी प्रजातन्त्र÷गणतन्त्र ल्याउँदासम्म पनि सामन्ती सोच, संस्कार, पुरातन विचार र व्यक्तिवादी चिन्तनबाट पार्टी वा संगठन माथि उठ्न सकिरहेको छैन ।

कमरेड पुष्पलालले ‘नेता होइन नीति प्रधान हो’ भने पनि अहिलेसम्म पार्टीभित्र यो भनाइ किन स्थापित हुन सकिरहेको छैन ? अहिले पनि व्यक्ति प्रधान भनेर भेडोसरि लागिरहेको देखिन्छ । द्वन्द्वात्मक भौतिक वाद आवश्यकताअनुसार परिवर्तन भइरहन्छ । पार्टी संगठन विचार र सिद्धान्तबाट गतिशील हुन्छ । त्यसैले देशको मागअनुसार संगठन/संस्था परिवर्तन र गतिशील हुन नसक्दा २४० बर्से राजा शासन र राणा शासनसमेत पतन भएजस्तै अहं दम्भकारी प्रवृत्ति त्याग्न नसके केपी प्रवृत्ति पनि पतन हुने निश्चित छ ।

हिजो राजा पृथ्वीनारायण शाहले देश एकीकरण गरेका, महेन्द्र वीरविक्रम शाहले नेपालको उत्तरी सिमानामा रहेका भारतीय आर्मी क्याम्प हटाएका र कोदारी राजमार्ग खोलेका थिए । त्यसै गरी जंगबहादुर राणाले देशको गुमेको भूभाग अंग्रेजसँग फिर्ता लिएका र चन्द्रशमशेरले सती प्रथा अन्त्य गरेका थिए । उनीहरुले मुलुकका लागि यसता हितकारी कार्य गरेका थिए । तर कतिपय कुरामा जनताको हित विपरीत शासन सत्ता सञ्चालन गर्दा आज राजा, राणा र पञ्चायतको अन्त्य भयो । त्यसै गरी अहिलेको परिवेशमा एमाले पार्टी केपी प्रवृत्ति र व्यक्तिवादबाट माथि उठ्न सकेन भने विचार, सिद्धान्तबाट विचलन भई पार्टी नै पतन हुने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्