ब्याँसमा हेलिकप्टर मार्फत खाद्यान्न ढुवानी


किरन धामी , दार्चुला ।

जिल्लाको ब्याँस गाउँपालिकाका विभिन्न वडाका विभिन्न बस्तीहरुमा हेलिकप्टरबाट खाद्यान्न ढुवानी भइरहेको छ । मालघाट घट्ना पछि महाकाली नदी माथी लगाइएका सबै तुइनहरु भारतीय एसएसबीले काटिदिए पछि ब्याँसमा खाद्यान्न अभाव भएको थियो ।

नेपालबाट ब्याँसको सुन्सेरा सम्म गाडी पुगेको भएपनि वर्षाका कारण दार्चुला–तिंकर सडक भत्किएर क्षतविक्षत भएपछि खाद्यान्न ढुवानीमा समस्या भएका बेला हेलिकप्टर मार्फत खाद्यान्न ढुवानी भइरहेको ब्याँस गाउँपालिकाका अध्यक्ष दिलिप सिंह बुढाथोकीले जानकारी दिनुभयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ब्याँसमा हेलिकप्टर मार्फत खाद्यान्न ढुवानी गर्नका लागी भदौ २३ गते टेण्डर आह्वानको सुचना निकालेको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालय धनगढीबाट दार्चुला सदरमुकाम खलंगा सम्म ट्रक मार्फत तथा खलंगाबाट ब्याँस गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ सम्म हेलिकप्टर मार्फत खाद्यान्न ढुवानीका लागी टेण्डर आह्वान गरेको थियो । कम्पनीले आह्वान गरेको टेण्डर सिमरिक एयरलाई परेको तथा आजबाट ब्याँसमा खाद्यान्न ढुवानी भइरहेको अध्यक्ष बुढाथोकीले बताउनुभयो ।

हेलिकप्टरले दुहुँ गाउँपालिका वडा नम्बर ५ को सिलिङचौरबाट ब्याँस गाउँपालिकाका विभिन्न वडामा खाद्यान्न (चालम) ढुवानी गर्ने उहाको भनाई छ । धनगढीबाट खलंगा ट्रकमा र खलंगाबाट दुहुँ गाउँपालिकाको धारी सम्म ट्याक्टरमा चामल ढुवानी गरेर त्याहाबाट हेलिकप्टर मार्फत ढुवानी भइरहेको जनाइएको छ ।

हेलिकप्टरले गाउँपालिकाको वडा नम्बर १ को तिंकरका लागी ७५ क्वीण्टल, छाङरुका लागी १ सय २५ क्वीण्टल, वडा नम्बर २ राप्लाको लागी २० क्वीण्टल, मालका लागी ३० क्वीण्टल, दुम्लिङका लागी ५० क्वीण्टल, वडा नम्बर ३ को सिना बस्तीका लागी १ सय क्वीण्टल र वडा नम्बर ४ सुन्सेरामा २ सय क्वीण्टल खाद्यान्न (चामल) ढुवानी गर्ने उहाले जानकारी दिनुभयो । नेपाल खाद्य संस्थानको अरुवा मोटो चामल दशै अघि नै स्थानियलाई वितरण गर्नका लागी हेलिकप्टरबाट ढुवानी भइरहेको अध्यक्ष बुढाथोकीले बताउनुभयो ।