धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार : मुख्यमन्त्री पोखरेल

154
Shares

न्युज अफ नेपाल, कास्की ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार रहेको बताएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति, तथा समाजसेवा पुरस्कार अर्पण तथा बधाई समारोहमा मुख्यमन्त्री पोखरेलले नवलपुरको त्रिवेणी, गजेन्द्र मोक्ष धामदेखि मुस्ताङको दामोदर कुण्डसम्मको क्षेत्रलाई धार्मिक कोरिडोरको रूपमा विकास गर्न सकिने बताएका हुन् ।

प्रदेशभर रहेका धार्मिक पिठका प्रमुखहरुलाई एक ठाउँमा भेला गराएर संयुक्त अवधारणा बनाएर धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने मुख्यमन्त्री पोखरेलको भनाइ थियो । धर्मलाई संस्कृति, समाजसेवा र विविध क्रियाकलापमा जोड्न सके आर्थिक क्रियाकलाप समेत बढ्ने उनको भनाइ थियो ।

कालीगण्डकी नदी केबल नदी नभएर सभ्यता, संस्कृति र सम्पदा रहेको भन्दै उनले भने, ‘यसैको महत्व र सम्भाव्यता अध्ययनका लागि गण्डकी प्रदेश सरकारले समिति गठन गरेको छ, काली गण्डकीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि समेत हामी पहल गर्छौँ ।

धर्मलाई सामाजिक क्षेत्र, शिक्षा र विकासका गतिविधिसँग जोड्न सकिन्छ भन्ने उदाहरण विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रस्तुत गरेको भन्दै प्रदेशका अन्य पिठहरुले समेत यसको अनुकरण गर्न आग्रह गरे । मन्दिर परिसरलाई व्यवस्थित बनाउने मात्र नभई गुरुकुल, प्राकृतिक चिकित्सालय, ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गरेको भन्दै उनले समितिको कार्यको प्रशंसा गरे ।

प्रदेश समृद्धिको पहिला आधार नै पर्यटन भएकाले कोरोनाले आक्रान्त बनाएको यस क्षेत्रलाई चलायमान बनाउन नेपालस्थित राजदूहरुलाई गण्डकी सरकारले पोखरा बोलाएर विशेष कार्यक्रम गरेको पनि उनले स्मरण गरे ।

कार्यक्रममा सम्मानित व्यक्तित्व वरिष्ठ लोकसंस्कृतिविद् एवं कवि तुलसी दिवसले धर्मसँग जोडिएको संस्थाले संस्कृति र समाजसेवाको क्षेत्रलाई अगाडि बढाउन देखाएको क्रियाशीलताप्रति उनले प्रशंसा गरे । सिर्जनशीलताकै कारण मानव जीवन सार्थक हुने भन्दै कला, साहित्य, संस्कृतिको क्षेत्रमा लागेका व्यक्ति कहिल्यै पूर्व नहुने भनाइ राखे ।

धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले लामो आरोह अवरोह पार गरेर समिति अहिलेको अवस्थामा आइपुगेको बताए । समितिका क्रियाकलापलाई अझ प्रभावकारी बनाउन आफूहरू अहोरात्र खटिएको भनाइ उनले राखे ।

समिति सचिव तीर्थ श्रेष्ठले लकडाउनको सदुपयोग गर्दै विन्ध्यवासिनी माताको मूर्ति जीर्णोद्धार गरिएको बताए । निकै जीर्ण भएको मूर्ति पुरातत्त्व विभागको स्वीकृतिमा जीर्णोद्धार गरिएको भन्दै उनले अब मूर्तिमा अक्षता र फूल चढाउन रोक लगाइएको जानकारी गराए ।

मन्दिर परिसरमा रहेको पोखराकै पुरानो तहसिल भवन पुनर्निर्माण, प्राकृतिक चिकित्सालय निर्माण, गुरुकुल भवन निर्माणका काम पनि भइरहेको सचिव श्रेष्ठले बताए । अब विन्ध्यवासिनीमा रात्रिकालीन पूजा सञ्चालनका लागि बिजुलीको प्रबन्ध गर्न लागिएको उनले जानकारी गराए ।

समितिका पूर्व अध्यक्ष हेमबहादुर प्रधानले स्थापना गरेको हेमदेवी धर्म, संस्कृति, तथा समाजसेवा पुरस्कार यो वर्ष वरिष्ठ लोकसंस्कृतिविद् एवं कवि तुलसी दिवसले प्राप्त गरेका छन् । यो पुरस्कार हरेक २ वर्षमा प्रदान गरिन्छ । २०७६ को यो पुरस्कार महिला सशक्तीकरणकामा सक्रिय दुर्गा घिमिरेलाई प्रदान गर्न निर्णय भए पनि उनी उपस्थित हुन सकिनन् । समिति सचिव तीर्थ श्रेष्ठले घिमिरेको घरमै पुगेर पुरस्कार अर्पण गरिने जानकारी गराए । पुरस्कारको राशि १ लाख रुपैयाँ छ ।

उक्त अवसरमा गण्डकी प्रदेशका मुख्य महान्यायाधिवक्ता रोहितराज बास्तोलाई बधाई अर्पण समेत गरिएको थियो । बास्तोला समितिका कानुनी सल्लाहकार हुन् । बास्तोलाले मन्दिरका नाममा भएका जमीनको अवस्था पत्ता लगाएर त्यसको व्यवस्थापन गर्न आफूले सक्दो मेहनत गरेको बताए ।

१९९८ असारमा धनकुटामा जन्मिएका दिवस सानैदेखि कला, साहित्य, संस्कृतिमा रुचि राख्ने दिवस उच्च शिक्षाको अध्ययनसँगै साहित्यतर्फ मोडिएका थिए । उनी संस्कृतिको अनुसन्धानमा पनि अनवरत क्रियाशील छन् ।

लामो समय प्राध्यापनमा बिताएका दिवसले विभिन्न जातजाति र संस्कृतिको अनुसन्धान गरेका छन् । दिवसका नेपाली लोक कथा, नेपाली लोककथा केही अध्ययन, धिमाल प्रदर्शनकारी लोकसंस्कृति, धिमाल लोक धर्म र संस्कृति, तुलसी दिवसका कविता, भारतबाट तुलसी दिवस की कविताएँ जस्ता कृतिहरु प्रकाशित छन् ।

दुर्गा घिमिरे ४ दशकभन्दा लामो समयदेखि महिला बेचबिखनविरुद्ध तथा महिला सशक्तीकरणका क्षेत्रमा क्रियाशील छन् । ‘घिमिरेले महिला बेचबिखन तथा सशक्तीकरणको क्षेत्रमा लामो समयदेखि योगदान दिएकी छन् । २००५ साल वैशाख ३ गते सुनसरीको धरानमा जन्मेकी दुर्गा घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए र त्रिभुवन विश्वविद्यालयबाटै कानुनमा स्नातक गरेकी छन् । २०३३ सालदेखि सामाजिक सेवा र महिला अधिकारको क्षेत्रमा उनी कार्यरत छन् ।