अबको निर्वाचनमा बहुमत ल्याएर एकल सरकार बनाउनु पर्दछ: सह महामन्त्री डा.महत


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा बहुमत ल्याएर पार्टीको एकल सरकार बनाउने प्रतिबद्धताका साथ आमनागरिकको सेवामा उत्रिन नेपाली कांग्रेसका कार्यकर्ता, समर्थक र शुभेच्छुकहरुलाई आग्रह गर्नुभएको छ ।

शनिवार नेपाली कांग्रेस बुढानीलकण्ठ नगरसमितिको दोस्रो अधिवेशनको उद्घाटन गर्दै सहमहामन्त्री डा। महतले सो कुरा बताउनुभएको हो ।उहाँले अहिले नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनेको भए पनि यो विभिन्न वैचारिक धरातलमा उभिएका राजनीतिक दलहरुको गठबन्धन सरकार भएकोले प्रधानमन्त्रीले फुकी फुकी कदम चाल्नु परेको बताउनुभयो । उहाँले अघिल्लो निर्वाचनमा अधिक मत पाएको राजनीतिक दल सरकार सञ्चालन गर्न असक्षम भएकोले संविधान अनुरुप नयाँ सरकार गठन गर्ने अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो ।

कांग्रेसका सहमहामन्त्री डा. महतले बर्तमान सरकारले संविधान अनुरुप राज्य सञ्चालन गर्ने, देशमा कानुनी शासन कायम गर्ने, लोकतन्त्र र संविधानको रक्षा गर्ने, आमनागरिकलाई विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको भयबाट मुक्ति दिने र पूर्ववर्ती सरकारले खल्बल्याएको बैदेशिक सम्बन्धलाई सुमधुर बनाउदै देश र जनताको हितमा काम गरिरहेको बताउनुभयो ।

सत्ता साझेदार दलहरुको घुर्की,धम्की,अनुनय र विनयका आधारमा चल्ने सरकारबाट नेपाली कांग्रेसले लिएका नीति,कार्यक्रम र लक्ष्यहरु हासिल हुने गरी सरकारले काम गर्न नसक्ने स्पष्ट पार्दै सहमहामन्त्री डा. महतले आउने निर्वाचन जितेर एकल सरकारमार्फत आफ्ना कार्यक्रम लागू गर्न तयारी अवस्थामा रहन कार्यकर्ताहरुलाई आग्रह पनि गर्नुभयो ।

सहमहामन्त्री डा. महतले क्रियाशील सदस्यहरु नै नेपाली कांग्रेस जग भएकोले निरन्तर सक्रिय रहन आग्रह पनि गर्नुभयो । उहाँले पार्टीको विचार जनतासमक्ष लैजाने जिम्मेवारी क्रियाशील सदस्यको काँधमा रहेको पनि बताउनुभयो ।उहाँले क्रियाशील सदस्यलाई उम्मेदवार हुने मतदान गर्ने सबै अधिकार छ रहेको उल्लेख गर्दै भन्नुभयो, “क्रियाशील सदस्यता हल्का रुपमा नलिऔ । जोसंग प्रतिबद्धता छ र पार्टी निर्माण गर्ने संकल्प छ, त्यसले क्रियाशील सदस्यता पाएको छ । क्षेत्रीय प्रतिनिधिले ४ पटक मतदानमा सहभागी हुन पाउनुहुन्छ , गाँउ-नगर, प्रदेश क्षेत्र, संसदीय क्षेत्र र जिल्लामा ।

प्रदेश कार्य समितिमा जाने र केन्द्रीय महाधिवेशनमा जाने प्रतिनिधिको चयन पनि गर्न पाउनुहुन्छ । तपाईहरुले पठाएको प्रतिनिधिले प्रदेश र केन्द्रको नेतृत्व चयन गर्दछ । तपाईहरुले आफ्नो शक्तिलाई बुझ्नुहोस् । यसलाई मनन गरे र अगाडि बढ्नुहोस् ।”डा. महतले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएले देशमा रहेका सबै जातजाति धर्म,संस्कृति, सभ्यता, पराम्परा, सस्कृतिको संरक्षण र संबर्धन गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हजारौं बर्षदेखि चल्दै आएको काठमार्डौको कला संस्कृति सभ्याता विनाको नेपालको कल्पना गर्न सकिंदैन । त्यस्तै हजारौ बर्षदेखि मानिदै आएका किराँत, थारु,गुरुड।मगर, राई लिम्बु,शेर्पा, क्षेत्री, ब्राह्मण, मधेशी समुदाय सबैको धर्म,संस्कृति र परम्पराको संरक्षण र सम्बर्धन जरुरी छ ।”

उहाँले नेपालको परिचय उत्तर दक्षिण पूर्वपश्चिमको भौगोलिक अवस्थितिले मात्र नपुग्ने त्यसमा यहाँका सबैजात जाति,धर्म र सम्प्रदायका सीप,सभ्यता,संस्कृति, परम्परा,भाषा,भेषभूषा र रहनसहन थपिनु पर्ने बताउनुभयो ।उहाँले नेपाली कांग्रेसले अंगीकार गरेका आदर्श,सिद्धान्त,मूल्य,मान्यताले मात्र व्यक्तिको योग्यता र क्षमताको कदर गर्ने सबैलाई व्यक्तित्व विकासका समान अवसर दिने बताउनुभयो ।

नेपाली कांग्रेसका संस्थापक नेताहरु विपी कोइराला, सुवर्णसमशेर, गणेशमान सिंह,कृष्णप्रसाद भट्टराई,गिरिजाप्रसाद कोइराला लगायतले देख्नुभएको सपना साकार पार्दै लोकतान्त्रिक राज्य व्यवस्थाको माध्यमबाट मुलुकलाई समृद्धि र विकासको शीखरमा पुर्याउने अभिभारा आजको पुस्तामा आएको पनि बताउनुभयो ।

सहमहामन्त्री डा। महतले लोकतन्त्रले निर्णय गर्ने अधिकार व्यक्तिमा सुम्पिने र आफूमा निहित क्षमतालाई उजागर गर्न पाइने तर यस्तो स्वतन्त्रता कम्युनिष्ट व्यवस्थामा नहुने पनि बताउनुभयो । उहाँले कम्युनिष्टहरु कुरा बढी गर्ने काम नगर्ने तर कांग्रेस काम बढी गर्ने कुरा बढी गर्न नरुचाउने देखिएको पनि उल्लेख गनुृभयो । कम्युनिष्टहरुले आफ्नो विचारसंग असहमतलाई सम्मान नगर्ने अनेक प्रोपोगण्डा गरिरहने बताउदै भन्नुभयो,“माओवादी एमालेले झुक्याइरहेका छन् ।”

कांग्रेस सहमहामन्त्री डा। महतले आमनागरिकहरु आफै पनि बुझ्न सक्ने अवस्थामा पुगे पनि कम्युनिष्टहरुको प्रोपोगण्डलाई चिर्न असमर्थ रहेकोले कांग्रेसका कार्यकर्ताले यथार्थ बुझाउन मिहेनत गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाली कांग्रेसको नेतृत्वमा देशमा २००७ सालदेखि नै क्रान्ति सफल हुँदै आएकोे ,क्रान्तिपछि संविधान निर्माण पनि भएको र त्यसपछि बनेका सरकारले अपूर्व रुपमा काम गरेपनि त्यो कुरा आमनागरिकलाई बुझाउने पक्षमा कमजोरी देखिएको बताउनुभयो ।

उहाँले सशस्त्र द्धन्द्धको शान्तिपूर्ण अवतरण र अन्तरिम संविधान हुँदै संविधानसभाबाट संविधान जारी गर्ने कार्य पनि नेपाली कांग्रेसको नेतृत्वमा सम्पन्न भएको स्मरण गराउनुभयो ।सहमहामन्त्री डा. महतले पार्टीमा अहिले बैचारिक पक्ष कमजोर हुँदै गएको र त्यसको स्थान व्यक्तिवादी प्रवृत्तिले लिंदै गएकोमा चिन्ता पनि प्रकट गनुभयो । उहाँले भन्नुभयो,“व्यक्ति बलियो भएर पार्टी बलियो हुँदैन । पार्टी बलियो भए सबै बलियो हुने हो । पार्टी र संस्थालाई केन्द्रमा राखौ ।”

उहाँले पार्टी कार्यकर्ताहरुलाई पार्टीभित्रका कमजोरी र नेतृत्वको आलोचना सार्वजनिक मञ्चमा हैन,पार्टीका उपयुक्त निकायमा गर्न पनि आग्रह गर्नुभयो । पार्टी समान विचारका नागरिकहरुको विस्तारित परिवार भएकोले परिवारको मर्यादालाई कायम गर्न पनि कार्यकर्तासंग अनुरोध गर्नुभयो । पार्टी कार्यकर्ताबीचमा एकापसमा मिलाप र एकता भए थप विश्वास आर्जन गर्न सकिने पनि उहाँले बताउनुभयो ।

कांग्रेस महामन्त्री डा।महतले संविधानसभाले निर्माण गरेको संविधानलाई पार्टीभित्र पनि कार्यान्वयन गर्नेमा नेपाली कांग्रेस पहिलो पार्टी भएको बताउदै भन्नुभयो,“हाम्रो पार्टीले विधानमा एक तिहाई प्रतिनिधित्व महिलाबाट गर्ने व्यवस्था गरेको छ र यसपटक त्यो कार्यान्वयन हुँदै छ ।”

उहाँले संविधान अनुरुप पार्टीको विधान र निर्वाचित प्रणाली बनाउदा केही बिलम्ब भएपनि सहभागिता र प्रतिनिधित्व उत्साहजनक भएको बताउदै भन्नुभयो,“हाम्रो इतिहास पढौं, सिकौं, पार्टीको लक्ष्य हासि गर्ने नेतृत्व चयन गरौ, पार्टीलाई बलियो र विकसित बनाऔ । थप उर्जा प्राप्त गरौ ।”