आज १० समूहगत छलफल सकाएर आजै शीर्ष नेताले जवाफ दिने



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आज पनि जारी छ। महाधिवेशनको आज दोस्रो दिन शुक्रबार प्रस्तुत गरिएका विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमा समूहगत छलफल हुने एमालेले जनाएको छ।

समूहगत छलफलका लागि प्रतिनिधिहरुलाई विभिन्न १० वटा समूहमा बाँडिएको एमालेका केन्द्रीय सदस्य एवं प्रचारप्रसार उपसमिति संयोजक खिमलाल भट्टराईले जानकारी दिए।तीनैवटा प्रतिवेदनमाथि समूहगत छलफल भएपछि आजै समूह नेताले समूहको प्रस्तुति गर्ने कार्यसूची रहेको उनले बताए। सबै समूहको प्रस्तुतिपछि उठेका प्रश्नबारे पार्टीका शीर्ष नेताहरुले जवाफ दिने बताइएको छ।

शुक्रबार राजनीतिक प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदन महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्ताव उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए।एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार महाधिवेशनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा अध्यक्षमण्डल गठन गरिएको छ।

महाधिवेशनको प्रस्ताव मस्यौदा कमिटी, सुझाव अध्ययन कमिटी, बहस नोट कमिटी र प्रचार समन्वय कमिटीसमेत गठन गरिएको छ ।महाधिवेशनमा ६ हजार ३४७ प्रतिनिधि सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्