कुन राजनीतिकदलको भरोसा छ र !



  • केशव अधिकारी

वर्तमान अवस्थामा नेपालमा कुनै पनि राजनीतिक दलले आश लाग्दो काम गरेर आमकार्यकर्ता र आमजनताको मन जित्न सकेका छैनन् । सत्ताको सुख भोगेका र ठूला मानिएका सबैजसो राजनीतिक दलहरु भ्रष्टाचारको आहालमा पौडी खेलेर आफ्नो नैतिकतालाई पानीमा बगाउँदै छन् । उनीहरुलाई पैसा नामको चीजले यसरी थला पारेको छ कि पैसा पाइन्छ भने इमान र जमानसमेत गुमाउन हाम्रा नेताहरु तयार अवस्थामा छन् । ठूला राजनीतिक दलका नेताहरु सबैजसोले अनपेक्षितरुपमा आ–आफ्ना हैसियत देखाइसकेका छन् । आमजनताले यिनका नाडी छामेर निराश भइसकेका छन् । तर फेरि पनि राजनीतिलाई सही बाटोमा हिँडाउने प्रयास नगरी बस्न पनि भएको छैन ।

करोडौँ जनताले कामना गर्दै र भरथेग गर्दै अनि बौद्धिक वर्गले सञ्चारका माध्यमबाट सही सुझाव दिएर सुधार्न खोज्दा पनि यिनले सुध्रने छाँट अलिकति पनि देखाउन सकेनन् । उल्टो एउटाले अर्काको विरोध गर्ने र खोइरो खन्ने अनि म पो असल अथवा जनप्रिय नेता हुँ, अरु कोही केही होइनन् भन्ने घमण्डले फुलेर नानाभाँतीका हरकत गर्दै हिँडेका छन् । यसले गर्दा आमजनतामा निराशा छाएको छ ।

आमजनताको इच्छा के थियो भने, राजनीतिक दलहरुका अधिकभन्दा अधिक कार्यकर्ता होऊन् । ती राजनीतिक दलहरुले इमानदारीका साथ राजनीतिलाई कुशल नेतृत्व गर्दै एउटा सही बाटोमा हिँडाउन सकून् भन्ने इच्छा राखेका थिए । आमजनताको यो इच्छा पूरा गर्नको लागि कुशल नेतृत्व गर्न सकेका भए समग्र देशको उन्नति पनि अपेक्षितरुपमा हुनेथियो । हामीले आज यति धेरै दुःख भोग्नुपर्ने थिएन ।

नेपालमा सर्वप्रथम स्थापित भएको राजनीतिक दल नेपाली काङ्ग्रेस हो । यसले १०४ बर्से निरङ्कुश राणा शासनका विरुद्धमा लडेर धराशायी बनाउने महत्वपूर्ण भूमिका खेलेको थियो । तत्कालीन समयमा नेपाली काङ्ग्रेसका नेता विश्वेश्वरप्रसाद कोइरालाले महत्वपूर्ण भूमिका निभाएका थिए । तर पछि सत्ताको भागवण्डामा आइपुग्दा बीपी र मातृका कोइरालाबीचको टकरावले गर्दा निरङ्कुश राणा शासन हटेर देशमा प्रजातन्त्र आएपछि पनि त्यसलाई जोगाउन सकेनन् । जसको फलस्वरुप प्रजातन्त्रको एक दशक लामो समय पनि बित्न नपाउँदै एक दलीय पञ्चायती व्यवस्था लागु हुन गई प्रजातन्त्रको आँकुरो नै भाँच्ने काम भएको थियो ।

बीपीपछिका कोइराला परिवारकै गिरिजाप्रसाद कोइरालाको उदयकालमा नेपाली काङ्ग्रेस दलको केही उत्थानको कालखण्ड थियो । त्यस पार्टीका गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता केही त्यागी र थोरै उदार विचारबाट नेपाली काङ्गे्रस पार्टीको छवि सुधार्ने काम भएको थियो । तर गिरिजाप्रसाद कोइरालाको अवसानसँगै कुशल नेतृत्वको अभावले गर्दा नेपाली काङ्गे्रसले रजनीतिलाई सही बाटोमा हिँडाउन सकेको पाइएन । उदार भावना र तदनुसारका कर्मबेगर पार्टीमात्र चलाउन खोजेर त्यस राजनीतिक दलले के उन्नति गर्नसक्दो होला र ?

नेपाली काङ्गे्रसपछिको समाजवादी बन्दै साम्यवादको लक्ष्य लिएर हिँडेको एमालेमा राजनीतिक दलप्रतिको आस्था नरहेको होइन तर अहिलेको समयमा एमाले भनेको पनि कुन राजनीतिक दललाई भन्ने होला भनेर दोधारमा पर्ने समय आएको छ । केपी शर्मा ओलीले अध्यक्षता गर्दै गरेको एमालेलाई आधिकारिक एमाले मानेको खण्डमा त्यस राजनीतिक दलले पनि आफ्ना एजेन्डाहरूको कार्यान्वयन गर्न सकेको पाइएन । नेपालको राजनीतिक इतिहासमा यो एउटा दुःखद अनुभूति हो कि दुई तिहाइ बहुमतबाट सरकारको नेतृत्वको कुर्सीमा बसेका नेता आफ्नै विविध कमजोरीका कारण गिर्दै गएर राजीनामा दिने सिँढीसम्म ओर्लन पुग्छन् । भ्रष्टाचार नियन्त्रण गर्छु भन्ने कसम खाएर कुर्सीमा विराजमान भएका नेता आफू स्वयं नै देश लुट्छन् ।

अझै गहिरिएर हेर्ने हो भने नेपालका कुनै पनि राजनीतिक दलमा भरोसायोग्य नेता एकजना पनि छैनन् भनेर मनमा दुःख लाग्दै भए पनि भन्नुपर्ने अवस्था विद्यमान छ ।नेपाली काङ्गे्रेस र एमालेपछिको माओवादी केन्द्रप्रति करोड जनताको आशा र भरोसा थियो । माओवादीका अध्यक्ष प्रचण्ड,अर्का नेता बाबुराम भट्टराई यी दुवैजना नेपालका प्रधानमन्त्री भएका बेलामा यिनले अलिकति मात्रै भए पनि राज्यको कानुनलाई एउटा व्यवस्थित नियममा हिँडाएर लैजान सकेका भए, भ्रष्टाचारीलाई उठ्नै नसक्ने गरी कार्यवाही गरेका भए झन्डै रामराज्यको स्थापना गर्न सक्ने थिए । कम्तीमा राज्य एउटा व्यवस्थित तरिकाले सुचारु हुने थियो । तर जति पढेगुनेका, संसारको राजनीति बुझेका भनिएका यी दुवैसँग पनि कहाँ रहेछ त राज्य सञ्चालन गरेर चौतर्फी उन्नतिको ढोका खोल्ने ज्ञान ? यिनीहरूसँग खै कहाँ रहेछ त अलिकति एक त्यान्द्रो भए पनि स्वदेशको माया ? यदि स्वदेशको माया भएको भए निकटको छिमेकीले हामीमाथि अन्याय, अत्याचार गरिरहँदा उसैलाई कम्फरटेबल हुने खालको शासन हाम्रा शासकले चलाउनुपर्ने अरे ! हामीमाथि छिमेकीको अन्याय हुँदा पनि त्यसलाई हामीले सहनुपर्ने अरे !

देशको माया हुने मान्छेले यस्ता कुरा कहिल्यै मनमा बोकेर जनताका माझ प्रकट गर्ला त ? अवश्य पनि गर्ने छैन । हामी नेपाली दाजुभाइ, दिदीबहिनीभन्दा सात समुद्रपारिको अमेरिकन,बेलायती मित्र उनीहरुका लागि कता हो कता महान् होलान् र उनीहरूका पाउमा लम्पसार परेर आत्मसमर्पण गर्छन् त हाम्रा हरेक राजनीतिक दलका पुड्का नेताहरू ।

आज हामी नेपाली जनताका करोडौँ युवा जनसमुदायले एमसीसी परियोजनाको विरोध गरिरहेका बेला युवाबाट लुकाएर वा युवालाई एकातिर छक्याएरै भए पनि एमसीसी पास गराउन खोज्दै छन् । नेपाली जनता र नेपाल देशको एक थोपा पनि पे्रम नभएका नेताहरूबाट हाम्रो देशको भलाइका लागि के काम होला वागर्न सक्लान् र ? जता वा जुन सरकारी कार्यालय पुगौँ त्यहाँ भ्रष्टाचार नभएको वा नहुनेत शायद कुनै सरकारी कार्यालय नै छैन होला । त्यसमा पनि थोरै र धेरै भन्ने कुराले पनि उत्तिकै प्रभाव पारेको हुँदो हो ।

यसरी जताततै बदनामी कमाएका र सामान्य जनताको नजरमा समेत गिरेर तलै पुगिसकेका नेताहरुको के भरोसा रहला र कुन राजनीतिक दलमा आस्था वा विश्वास राख्न सकिएला ? भन्ने प्रश्न अहिले अलमलमा परेका इमानदार नेपाली जनतालाई सोधेर जान्नुपर्ने भएको छ ।नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र गरी यी तीन ठूला राजनीतिक दलका अतिरिक्त राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दर्जन राजनीतिक दलहरु अवश्य रहेका छन् । तर ती स–साना राजनीतिक हैसियतका दलहरूसँग पनि देशमा एउटा सुव्यवस्था कसरी बसाल्ने, आमजनताका राहतका लागि के–कस्ता काम गर्न सकिन्छ भन्नेजस्ता विषयमा कत्ति पनि ध्यान गएको पाइँदैन । केवल दुई–तीनवटा राजनीतिक दलका बीचमा दोहोरी खेलेर मनोरञ्जन गर्न चाहनेहरुका लागि देशको चिन्ता कसरी जागोस् ? जबसम्म नेता भनाइ हिँड्ने व्यक्तिसँग देशको उन्नतिको कुनै योजना हुँदैन, विदेशीले थिचेको र मिचेको सहन सक्छ मात्रै होइन कि उसैको झोला बोकिदिएर रिझाउन खोजी साखुल्ले बन्ने प्रवत्तिले गर्दा नेता भनाउँदाहरू आफैँ पनि तत्–तत् राजनीतिक दलमा दृढताका साथ अडिन सकेका र निर्णायक भूमिका खेल्न सक्ने अवस्थाका देखिँदैनन् ।

कुनै पनि राजनीतिक दल एउटा विश्वासको भरमा चलेको हुन्छ । त्यसलाई चलाउने नेताहरुले त्यो विश्वासलाई अझै बढाउने काम गर्दै लैजान सकेको खण्डमा मात्र उक्त राजनीतिक दल बलियो वा मजबुत बन्दै जानथाल्छ । होइन भने पानी ओताउन नसक्ने घरलाई मान्छेले छोडेर हिँडेजस्तै भरोसा नभएको भनीएकपछि अर्को गरी कार्यकर्ताले छोड्दै–भाग्दै गर्न बेर लगाउँदैनन् ।वर्तमान अवस्थाले यस कुरालाई पुष्टि गरिसकेको छ । यस्तै हो भने भविष्यमा अझ पुष्टि हुँदै जानेछ । त्यसैले सबै राजनीतिक दलले बेलैमा सोचेर भरोसा गर्नलायक बन्नु जरुरी छ ।

अहिले हरेक राजनीतिक दलमा फलानो दलबाट फलानो दलमा यति धेरै नेता–कार्यकर्ता गएका वा आएका समाचार दैनिकरुपमा सुनिदै आएको छ । दही–चिउरे र झोले कार्यकर्ताबाहेकका केवल शुद्ध एवं निष्ठावान् कार्यकर्तामात्र त्यस राजनीतिक दलका भित्री आत्मा हुन् । दुई–चार दिन झोला बोकेर हिँडेको कार्यकर्ता एक–दुई दिन कुनै राजनीतिक दलमा प्रवेश गर्ला, फेरि दुई दिनपछि अर्कै राजनीतिक दलको पुच्छर बनेर बस्ला । त्यस्ता स्वार्थी र दही–चिउरे कार्यकर्ताले मात्र राजनीतिक दल बलियो हुने होइन । राजनीतिक दललाई बलियो बनाउनको लागि त जस्तै परिस्थितिमा पनि दृढताका साथ धैर्य गरेर पर्खन सक्ने कार्यकर्ता चाहिन्छ । मौका आइपुग्दा पार्टीका लागि त्यो मौका नगुमाउने कार्यकर्ता सच्चा कार्यकर्ता हो ।

अहिलेको राजनीतिक वातावरणले गर्दा सबैजसो राजनीतिक दलका इमानदार र आफ्नो राजनीतिक दललाई औधी माया गर्ने आमकार्यकर्ताहरु दोधारमा परेर के गरौँको अवस्थामा उभिएका छन् । यस्ता कार्यकर्तालाई केवल सान्तोनाको झोल पस्केर मात्रै पुग्नेवाला हुँदैन । तिनलाई विश्वास दिलाउनको लागि कार्यक्षेत्रमा खरो उत्रेर मात्रै सफल भइन्छ । अब या त खरो उत्रेर काम गरी ती दोधारमा परेका आमकार्यकर्तालाई लोभ लाग्ने गरेर बोलाउन सक्नुप¥यो, होइन भने भएको आस्थाबाट विचलित भएर अरु जताततै भौँतारिन पनि बेर लाग्ने छैन । यसरी आमइमानदार कार्यकर्ता भौँतारिनु भनेको नेतृत्व असफल हुनु हो । सफल नेतृत्वले त कम्तीमा आफ्ना कार्यकर्तामा हौसला पो थप्नुपर्छ त । त्यसैले अन्त्यमा पुनः प्रश्न– कुन राजनीतिक दलको भरोसा गर्ने त अब हामीले ?

प्रतिक्रिया दिनुहोस्